देशभर ३ सय ४८ जना स्वस्थ हुँदा ३ सय ६ संक्रमित थपिए

काठमाडौं,२८ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ९ हजार ६ सय ६ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख १६ हजार ९ सय ६६ र एन्टीजेन विधिबाट ९५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ४८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर १५ हजार ९ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।