सरकारबाट प्रसूति सेवाको भुक्तानी लिने नवजीवन अस्पताल बिरामीबाट पनि शुल्क असुल्दै



Download our app to get more features

धनगढी, २७ कात्तिक । श्रीमतीलाई सुत्केरी बेथा लागेपछि मुकुन्द शाही धनगढीको नवजीवन अस्पताल पुगे । बुधवार शल्यक्रियामार्फत् प्रसूति सेवा प्रदान गरिएकोमा शाहीको २२ हजार खर्च भयो । क्याबिन खर्च स्वभाविक भए पनि नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम लागू भएको अस्पतालले शल्यक्रिया र उपचारको पनि शुल्क लिएको शाहीको गुनासो छ ।

उनले भने, ‘पहिले अप्रेशन गरेको पनि निःशुल्क थियो । तर अहिले भएन । क्याबिनको सुविधा लिए सेवा नपाउने भन्नुभयो । २२ हजार अप्रेशनको तिरेको छु । चार हजार प्रत्येक दिनको क्याविनको तिर्नुपर्ने छ ।’ धनगढीको नवजीवन अस्पतालले प्रसूती सेवामा दोहोरो रकम असुल गरेको आरोप लागेको हो । 

नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम लागू भएको उक्त अस्पतालले प्रसूती सेवा लिएका महिलाबाट पनि रकम असुल गर्दै आएको हो । अस्पतालले प्रसूति महिलाहरुबाट शल्यक्रिया तथा वार्डको शुल्क लिदै आएको पाइएको छ ।

आमा सुरक्षा कार्यक्रम लागु भएका २५ शय्याभन्दा कमका अस्पतालले सामान्य प्रसूतीको एक हजार पाउँदै आएका छन् । २५ शय्या माथिका अस्पतालले एक हजार पाँच सय रुपैया सरकारबाट पाउँदै आएका छन् । 

जटिल प्रसूतीको तीन हजार तथा शल्यक्रियाको सात हजार रकम नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमबाट दिदै आएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

उनले भने, ‘आमा सुरक्षा कार्यक्रम लागू भएका सरकारी वा निजी कुनै पनि अस्पतालहरुले रकम लिन पाउँदैन्। उहाँहरुलाई सरकारले रकम दिन्छ ।’

आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीको नवजीवन अस्पतालले भने प्रसूती सेवा प्रदान गर्दा रकम असुल गर्दै आएको पाइएको हो । तर, अस्पतालका निर्देशक डाक्टर निरज अर्यालले तिहार बिदा भएकाले बढी रकम लागेको प्रतिक्रिया दिए । 

उनले भने, ‘हाम्रा डाक्टर बिदामा छन् । डाक्टर बिदामा भएको समयमा बढी रकम लाग्छ । बिरामी अनुसार उहाँहरुलाई हामीले रकम दिनुपर्ने हुन्छ ।' 

आमा सुरक्षा कार्यक्रममार्फत् यातायात खर्चको समेत सुविधा रहेको छ । हिमाली क्षेत्रका प्रसूति महिलाले तीन हजार यातायात खर्च पाउँदै आएका छन् पहाडी क्षेत्रका दुई र तराई क्षेत्रका प्रसूती महिलाले एक हजार यातायात खर्च पाउँछन् । उनीहरुले नियमित गर्भ परीक्षण गराउनु पर्ने हुन्छ ।

Last modified on 2021-11-14 08:57:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts