फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय
काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ।
स्वास्थ्य सेवा विभागले फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे।
फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ। खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ।
विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए। उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरिद गरिने छ। उनले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए। नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो।