चितवनमा कोरोना खोपः १८ वर्षमाथिका लगभग सकियो, छुटेकालाई आज र भोलि फेरि लगाइँदै
चितवन, २५ कार्तिक । यसअघि छुटेका लक्षित वर्गलाई चितवनमा फेरि आज र भोलि कोरोनाविरुद्धको पहिलो डोज खोप सञ्चालन हुँदैछ ।
जिल्लाभर सबै खोप केन्द्रबाट कार्तिक २५ र २६ गते कोरोनाविरुद्धको खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । अन्य स्थानीय तहमा दुइ दिन सञ्चालन हुने भएपनि भरतपुर महानगरपालिकामा भने आज मात्रै खोप लगाइँने महानगरको सूचनामा उल्लेख छ ।
उपलब्धताको आधारमा भेरोसेल, एस्ट्राजेनेका वा कोभिशिल्ड खोप लगाउने प्रमुख तिवारीले जानकारी दिए ।
उनका अनुसार १८ वर्षमाथिका सबैले यो खोप लगाउन पाउने छन् । जसको लागि जन्म मिति विसं २०६० कार्तिक २५ गतेसम्म भएको हुनुपर्नेछ । यसअघि लगाउन छुटेका लक्षित वर्गले समेत अहिले खोप लगाउन सक्ने उनले बताए ।
उनीहरुले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी) मा पुगेर खोप लगाउन सक्ने उनले बताए । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजान तिवारीले अनुरोध गरेका छन् ।
खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत उनले सबैमा अनुरोध गरेका छन् ।
खोप अभियानमा चितवनले ठुलो उपलब्धि हासिल
‘चितवन जिल्लामा १८ वर्षमाथिका लक्षित वर्गका सबैजसोले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् । छुटेका बाँकीलाई आज र भोलि लगाइँदैछ । खोप अभियानमा यो ठुलो उपलब्धि हासिल गरेका छौं ।’ प्रमुख तिवारीले भने, ‘हिमाली क्षेत्रका साना जिल्लाहरूमा खोप लगाउन सकिएको छ । त्यसबाहेक खोप अभियान पुरा गर्ने उपत्यका बाहिर १८ वर्षमाथि ठुलो जनसङ्ख्या भएको चितवन पहिलो जिल्ला हो ।’
१८ वर्षमाथिका जनसङ्ख्याको यकिन तथ्याङ्क नभएपनि अहिलेसम्म ४ लाख हाराहारीले खोपको पहिलो मात्रा लगाइसकेको उनले जानकारी दिए । केहीको भने दोस्रो मात्रा लगाउन बाँकी छ । उनीहरूलाई समेत अवधि पुगेपछि दोस्रो मात्रा लगाइँने उनले जनाए ।
यसअघि कार्तिक १५ र १६ गते जिल्लाभर सबै केन्द्रबाट १८ वर्षमाथिका लक्षित वर्गलाई कोरोनाविरुद्धको खोप सञ्चालन गरिएको थियो । त्यस अभियानमा छुटेकाहरूलाई अहिले खोप दिन लागिएको हो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।