आजदेखि राष्ट्रिय जनगणना सुरु,मातृ मृत्युको पनि अध्ययन गरिदै



Download our app to get more features

काठमाडौं,२५ कात्तिक, । नेपालमा आजदेखि १२ औं राष्ट्रिय जनगणना गरिदै छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन् । 

सरकारले राष्ट्रिय जनगणना २०७८ मा मातृ मृत्यु अध्ययन पनि गर्ने भएको छ । जनगणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्र कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी प्रश्नावली तयार पारिएको छ । 

यदी कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरुले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउने छन् । देशभरबाट आउने तथ्यांकले गत वर्षको मातृ मृत्युदर पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा छ । आगामी दिनमा मातृ मृत्युदर कम गराउने नीति तथा योजना बनाउन पनि सहयोग पुग्ने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले तथ्यांक विश्लेषण गरी प्रतिवदेन प्रकाशन गरिने र प्रतिवेदनको आधारमा मातृ मृत्यु रोकथामका लागि कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गरिने जनाएको छ ।

नेपालको संविधान प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई सुनिश्चित गर्दै नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रजनन उमेरका महिलाहरूको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ । सन् २०१६ मा मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्य अनुरूप २०३० सम्ममा यसलाई ७० मा झार्ने लक्ष्य छ ।

जनगणनामा मातृ मृत्युदर निर्धारण गर्ने र ती मातृ मृत्युहरूको कारणहरू पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्य राखिएको छ । स्वास्थ्य मन्त्रालय र केन्द्रीय तथ्याङक विभागको संयुक्त पहलमा ‘राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन’ गरिएको हो ।

Last modified on 2021-11-11 12:07:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts