स्वास्थ्य सामग्री हस्तान्तरण
पाल्पा, २४ कात्तिक । बगनासकाली बहुउद्देश्यीय सहकारी र ग्रामीण स्वावलम्बन विकास केन्द्रले संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड सङ्क्रमणको न्यूनीकरण नभइसकेको जनाउँदै ती दुई सस्थाले सङ्क्रमणबाट सुरक्षित रहन र उपचारका निम्ति चाहिने साम्रगी बगनासकाली गाउँपालिकाभित्रका स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन् ।
ती सामग्रीका अक्सिजन कन्सन्ट्रेटर दुई , अक्सिजन फ्लोमिटर दुई , अक्सिजन सिलिण्डर , अक्सिजन सिलिण्डर रेञ्च एक, पल्स अक्सोमिटर पाँच, प्यासेन्ट मोनिटर दुई, भिटिएस २००, ऐन्जिेन किट ३००, पिपिई सेट ३० थान, स्यानिटाइजर १०० लिटर, एक्जामिनेशन ग्लोबल ३० प्याकेट, सोडियम हाइडोक्रोराइड ५० लिटर, सर्जिकल मास्क पाँच हजार , आइसोलेशन शय्या तीन, कम्मल एक, बेडकभर १० , पिलोकभर १० थान रहेका छन् ।
त्यसैगरी आइबीस्ट्ण्ड पाँच, ह्वीलचियर दुई, डिजिटल बिसीसेट पाँच, थर्मलगन दुई, अटोमेटिक ह्याण्ड डायर एक, फोहर डिस्पोज बक्स एक, टर्चलाइट पाँच, स्टथेस्कोप पाँच, ह्यान्डवास डिटोल पाँच लिटर स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।
सो सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले सो गाउँपालिकाको बराङ्दीको घिमिरेडाँडाको आइसोलेशन सेन्टरसहित चापपानी , नायरनम्तलेस र खानीछाप स्वास्थ्यचौकीलाई रु २० लाख बराबारका ती सामग्री वितरण गरिएको जानकारी दिए ।
साथै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र सहकारी संस्थाका पदाधिकारी सदस्यलाई कोभिडबाट सुरक्षित रहन तालिम सञ्चालन गर्न लागिएको छ । यसबाट गाउँपालिकाभित्रका नागरिक सुरक्षित रहन सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । सहकारीले आफ्नै भवनमा सञ्चालन गर्न लागेको आइसोलेशनका लागि स्थानीय स्वास्थ्यचौकीसहित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सहकार्य हुने उनले बताए ।
कार्यक्रममा बगनासकाली–८ का वडाध्यक्ष गणेशप्रसाद बस्याल, ग्रामीण स्वावलम्बन विकास केन्द्रका प्रतिनिधि हर्खबहादुर सुनुवारले कोभिडबाट सुरक्षित रहनुपर्ने र स्वास्थ्योपचारमा सबै नागरिकको पहुँच पुग्न आवश्यकता औँल्याए । जिल्ला सहकारी सङ्घका अध्यक्ष भुपति पाण्डे, जिल्ला बचत सङ्घका अध्यक्ष जगदीश भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका प्रतिनिधि मधुसुधन भट्टराई, नेपाल पत्रकार महासङ्घका सचिव यज्ञमूर्ति तिमिल्सिनाले असुरक्षाका कारण कोभिड सङ्क्रमणको जोखिम उच्च हुने र कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए ।
सस्थाका सचिव कमलराज तिमिल्सेनाले सहकारीका सदस्यका आयआर्जनसँगै स्वास्थ्य सुरक्षाका क्षेत्रमा समेत काम गर्दै आएको बताए । सहकारीका माध्यमबाट यस क्षेत्रमा व्यावसायिकरूपमा भैँसीपालन, खुर्सानी खेती हुँदै आएको छ । रासस