सुदूरपश्चिममा अझै साढे ११ लाखलाई कारोना भाइरस विरुद्धको खोप लगाउन बाँकी
धनगढी, २३ कात्तिक । सुदूरपश्चिममा झण्डै ४० प्रतिशत जनसंख्याले कोभिड विरुद्ध खोप पाएका छन्। प्रदेशका सबै जिल्लामा १९ लाख ४८ हजार ३ सय ८८ जना कोरोना खोप लगाउनुपर्ने जनसंख्या छ।
हालसम्म लक्षित जनसंख्याको ३३ दशमलव ४ प्रतिशतले पूर्ण खोप तथा ३९ दशमलव २ प्रतिशतले पहिलो मात्रा पाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त प्रमुख प्रमुख ओम जोशीले बताए। प्रदेशमा हालसम्म कोभिड विरुद्धको १५ लाख १३ हजार २ सय मात्रा खोप आएको उनले बताए।
सुदूरपश्चिम प्रदेशमा हालसम्म कोभिसिल्डको ३ लाख १८ हजार मात्रा आएको छ। यसैगरी अस्ट्राजेनिका १ लाख ९९ हजार तथा जोन्सन एण्ड जोन्सनको १ लाख ३६ हजार ८ सय मात्रा खोप आएको छ। सबैभन्दा धेरै भेरोसिल खोप १० लाख ५८ हजार ४ सय मात्रा आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदम विष्टले जनाए।
‘सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ४ किसिमको खोप आएको छ’ उनले भने, ‘हाल भेरोसिलको ५६ हजार ४ सय मात्रा तथा कोभिसिल्डको ४ हजार ५ सय मात्रा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मौज्दात रहेको छ।’
सुदुरपश्चिममा बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका सबैले खोप पाएको भएपनि अन्य जिल्लामा भने ४० वर्षमाथिको सबै जनसंख्याले कोभिड विरुद्धको खोप पाएको दाबी गरिएको छ।