चिसोसँगै प्रदूषण बढ्दैछ, सतर्क रहौँ : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, २२ कात्तिक । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।
सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकाले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताए।
उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए। वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ ।
उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस एक डिग्री सेल्सियस पुगेको जानकारी दिए। आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।
‘कात्तिक महिनामै यति चिसो हुँदै जाँदा आगामी दिनहरुमा थप चिसो बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दैछौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ', वरिष्ठ मौसमविद् पौडेलले भने, 'हिजो-आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौँमा भन्न सकिँदैन तर तापक्रम माइनस वा शून्य आसपास जान सक्छ यो वर्ष।'
वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकाले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए। उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुरजस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए।
वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने बताए। उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए।
पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउन जोड दिए।