‘डाक्टर’ पदबारे विवाद !

What's This?


Download our app to get more features

काठमाडौं, १७ कात्तिक । डाक्टर अर्थात् चिकित्सक शब्द कसले लेख्ने भन्नेबारे नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद चिकित्सक सङ्घबीच विवाद उत्पन्न भएको छ । 

काउन्सिल, चिकित्सकहरूको दर्ता, अनुगमन, निरीक्षण र कारबाही नेपाल सरकारको आधिकारिक निकाय हो भने सङ्घ आयुर्वेद चिकित्सकहरूको साझा संस्था हो । 

काउन्सिलले गत बुधवार सूचना जारी गर्दै चिकित्सक शब्दको परिभाषा सार्वजनिक गरेपछि आयुर्वेद चिकित्सक सङ्घले आपत्ती जनाएको छ । 

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले जारी गरेको सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) ‘चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भएकाले र उसले मात्रा डाक्टर लेख्ने व्यवस्था रहेको उल्लेख गरिएको छ । 

आधुनिक औषधि सम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन नहुने भएकोले काउन्सिलमा चिकित्सकको रुपमा दर्ता नभएका व्यक्तिले डाक्टर लेख्नु वा प्रयोग गर्नु गैर कानुनी हुने काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारले हाम्रो डाक्टरलाई जानकारी दिए ।

सो सूचना जारी भएपछि नेपाल आयुर्वेद चिकित्सक संघले त्यसप्रति आपत्ति जनाएको छ । संघले ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीर्ण’ भन्ने व्यवस्था अनुरुप आयुर्वेद स्नातक र सो भन्दा माथिको आयुर्वेदको शैक्षिक योग्यता भएको र  आयुर्वेद चिकित्सा परिषद नेपालमा दर्ता भएका व्यक्तिहरु चिकित्सक भएको र अङ्ग्रेजीमा डाक्टर भनिने उल्लेख गर्दै मेडिकल काउन्सिलले भ्रम सृजना गर्न खोजेको आरोप लगाएको छ । 

सङ्घका अध्यक्ष डा.प्रकाश ज्ञवालीले आयुर्वेद चिकित्सा ऐनको परिच्छेद–४, दफा ४.२ चिकित्सकको योग्यता सम्बन्धी थप व्यवस्था रहेको उल्लेख गर्दै मेडिकल काउन्सिलले अहिले अनावश्यक विवाद सृजना गर्न खोजेको बताएका छन् । 

सङ्घले आयुर्वेद चिकित्सा परिषद नेपाललाई यस विषयमा थप स्पष्ट पार्न आग्रह गर्दै मेडिकल काउन्सिललाई आयुर्वेद चिकित्सकहरुको हैसियतबारे स्पष्ट पार्न अनुरोध गरेको छ । 

सङ्घका पदाधिकारीहरुका यसबारेमा काउन्सिलले थप स्पष्ट नपारेमा वा आयुर्वेद चिकित्सकहरूको हैसियतमाथि प्रश्न उठाइरहे अदालतमा उजुरी दिने तयारीसमेत भैरहेको छ । पहिले आयुर्वेद चिकित्सा परिषद्को नेतृत्वमा मेडिकल काउन्सिलसँग बसेर समस्या समाधान गर्नुपर्ने देखिएको छ ।

Last modified on 2021-11-03 16:50:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts