माल्दिभ्सले दिएको खोप लगाउन सुरु



Download our app to get more features

काठमाडौं, १६ कात्तिक ।  तिहार लक्षित गरेर सरकारले स्थलमार्ग हुँदै घर जाने यात्रुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउने दुईदिने अभियान सुरु गरेको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गोंगबुको नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक र बल्खु चोकमा यात्रुलाई खोप लगाउने सुविधा मिलाएको हो।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सागर दाहालले उपत्यकाबाट बाहिरिने यात्रुका लागि लक्षित गरी आज र भोलिका लागि चोक चोकमा खोप सेवा उपलब्ध गराइएको जानकारी दिए। उनले यात्रुहरूलाई भेरोसेल र एस्ट्राजेनेका खोप लगाइदिएको बताए।

‘तिहार मनाउन काठमाडौँबाट स्थलमार्ग हुँदै घर जानेहरूका लागि बिहान साढे ७ बजेदेखि चार बजेसम्म उपत्यकाका चारवटा नाकामा खोप लगाउने व्यवस्था मिलाएका छौँ,  खोप नलाउनु भएकाहरूले ती स्थानमा गएर खोप लगाएर घर जान सक्नुहुन्छ’‚ उनले भने।

उनका अनुसार यसअघि पहिलो मात्रा स्वरूप भेरोसेल अथवा एस्ट्राजेनेका खोप लगाएकाहरूले दोस्रो मात्रा स्वरूप खोप लगाउन सक्ने र पहिलो मात्रा स्वरूप पनि सोही खोप लगाउन सकिने उनले बताए।

आज र भोलि पहिलो मात्रा स्वरूप खोप लगाउनेले दोस्रो मात्रा लगाउने समयमा खोप कार्ड लिएर खोप अभियान सञ्चालन भएको जुनसुकै ठाउँमा गएर खोप लगाउन सकिने दाहालले बताए।

यात्रुहरूलाई खोप लगाउन प्रत्येक बुथमा चार चारजनाका दरले १६ जना भ्याक्सिनेटर र १० जनाका दरले ४० जना भोलेन्टियर खटाइएको छ।

खोप शाखा प्रमुख दाहालले खोप लगाउन यात्रुहरूले आधिकारिक परिचयपत्र, नागरिकता, मतदाता परिचयपत्र, राहदानी वा पहिलो खोप लगाइसकेको भए दोस्रोपटक लगाउन खोप कार्ड लिएर जान सक्ने बताए।

यता माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको २ लाख १ हजार ६ सय मात्रा एस्ट्राजेनेका खोप एक महिनामा म्याद सकिने हुँदा सो खोप नै तत्कालै लगाउनुपर्ने भएकाले हाल सोही खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

Last modified on 2021-11-03 08:52:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts