चितवनमा १८ वर्षमाथिका सबैलाई आज र भोलि कोरोनाविरुद्धको खोप लगाइँदै
चितवन, १५ कात्तिक । चितवनमा आजदेखि १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइँदैछ ।
आज र भोलि जिल्लाभर रहेका सबै खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । आवश्यकता अनुसार एकदिन थप गरिन सकिने उनले बताए ।
उपलब्धताको आधारमा भेरोसेल, एस्ट्राजेनेका वा कोभिशिल्ड खोप लगाउने उनले जानकारी दिए ।
उनका अनुसार १८ वर्षमाथिका सबैले यो खोप लगाउन पाउने छन् । जसको लागि जन्म मिति वि.सं. २०६० कात्तिक १६ गते भन्दा अघि भएको हुनुपर्नेछ । यसअघि लगाउन छुटेका लक्षित वर्गले समेत अहिले खोप लगाउन सक्ने उनले बताए ।
उनीहरुले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी) मा पुगेर खोप लगाउन सक्ने उनले बताए । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजान तिवारीले अनुरोध गरेका छन् ।
खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत उनले सबैमा अनुरोध गरेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।