चितवनमा साउनयता १ सय ५५ जना स्क्रब टाइफस र २४ जना डेङ्गुका बिरामी भेटिए
चितवन, १५ कात्तिक । चितवनमा कोरोनासँगै स्क्रब टाइफस र डेङ्गुको सङ्क्रमण बढे्को छ ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म जिल्लामा १ हजार २ सय ६० जनामा परीक्षण गरिएको मध्य १ सय ५५ जनामा स्क्रब टाइफस र १ हजार १ सय ८१ जनामा परीक्षण गरिएको मध्य २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्क्रब टाइफस सङ्क्रमित हुनेमा पुरूषभन्दा महिला बढी छन् । १ सय ५५ जना सङ्क्रमित मध्ये ८९ जना महिला र ६६ जना पुरूष रहेका छन् । त्यस्तै, डेङ्गु सङ्क्रमित हुनेमा भने महिलाभन्दा पुरूष बढी छन् । २४ जना सङ्क्रमित मध्य १८ जना पुरूष र ६ जना महिला रहेका छन् । दुवै सङ्क्रमणका कारण चालू आर्थिक वर्षमा हालसम्म जिल्लाभर कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी सङ्क्रमित हुनेमा चितवन समेत अन्य जिल्लाका समेत छन् ।
कुन स्थानीय तहमा कति छन् सङ्क्रमित ?
साउनदेखि हालसम्म जिल्लाको भरतपुर महानगरपालिकामा ३१ जनामा स्क्रब टाइफस र १० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा ४ जनामा, राप्ती नगरपालिकामा ३ जनामा, खैरहनी नगरपालिकामा ९ जनामा, माडी नगरपालिकामा ७ जनामा र कालिका नगरपालिकामा ३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा भने चालू आर्थिक वर्षमा हालसम्म कसैमा पनि यी दुवै संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा चालू आर्थिक वर्षमा हालसम्म डेङ्गु संक्रमण भरतपुर महानगरपालिका बाहेक अन्य कुनै पनि स्थानीयतहमा देखिएको छैन ।
भदौसम्मको अवस्था यस्तो थियो
स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्षमा साउन १ गतेदेखि भदौभर जिल्लामा ८ सय ३९ जनामा परीक्षण गरिएको मध्य ९४ जनामा स्क्रब टाइफस र ८ सय ८९ जनामा परीक्षण गरिएको मध्य १६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।
त्यति बेला पनि स्क्रब टाइफस सङ्क्रमित हुनेमा पुरूषभन्दा महिला नै बढी थिए । ९४ जना सङ्क्रमित मध्ये ५४ जना महिला र ५० जना पुरूष रहेका थिए । त्यस्तै, डेङ्गु सङ्क्रमित हुनेमा भने महिलाभन्दा पुरूष बढी थिए । १६ जना सङ्क्रमित मध्ये १४ जना पुरूष र २ जना महिला रहेका थिए ।
गत आर्थिक वर्षमा ३ सय १८ जनामा स्क्रब टाइफस र २ सय ४७ जनामा डेङ्गु सङ्क्रमण
कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा २ हजार २ सय ९० जनामा परीक्षण गरिएको मध्य ३ सय १८ जनामा स्क्रब टाइफस र १ हजार ९ सय ८६ जनामा परीक्षण गरिएको मध्य २ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । त्यति बेला सङ्क्रमित मध्ये एकजनाको स्क्रब टाइफसका कारण मृत्यु समेत भएको थियो । डेङ्गु सङ्क्रमणका कारण भने जिल्लामा गत आर्थिक वर्षमा समेत कसैको पनि मृत्यु भएको थिएन ।
कसरी लाग्छ स्क्रब टाइफस र डेङ्गु रोग ?
स्क्रब टाइफस छुचुन्द्रो, मुसा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले टोक्दा मानिसमा सर्छ । यो किर्ना विशेषगरी चौर, झारपात, पुरानो काठ, घास आदिमा पाइन्छ । त्यस्तै डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गुभएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । त्यस्ता किर्ना र लामखुट्टेको टोकाइबाट बच्नु नै यी सङ्क्रमणबाट जोगिने उत्तम उपाय हो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।