सेतीमा शल्यक्रिया सेवा पाउन समस्या भएपछि निजी अस्पतालको भर
धनगढी, १४ कात्तिक । सुदूरपश्चिमको एक मात्र रेफरल सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा पाउन समस्या हुने गरेको छ।
झण्डै २८ लाख जनसंख्याले स्तरीय स्वास्थ्य सेवा पाउन सेती प्रादेशिक अस्पताल आउनुपर्ने अवस्था भए पनि आकस्मिक शल्यक्रिया गर्नुपरे धनगढीका अन्य अस्पताल, अन्य प्रदेश र भारत धाउनुपर्ने बाध्यता रहेको छ। अहिलेको जनसंख्याको अनुपातमा सेतीमा कम्तीमा पनि तीन वटा शल्यक्रिया कक्ष हुनुपर्ने सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डन्ट एवम् स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक लक्ष्मीराज पाठक बताउँछन्।
’सेती प्रादेशिक अस्पतालमा कम्तीमा पनि तीन वटा शल्यक्रिया कक्ष हुनुपर्छ,’ उनले भने, ’जतिजति सेवा विस्तार भयो त्यहीँ अनुपातमा जनशक्ति र शल्यक्रिया कक्ष आवश्यक पर्छ।’ सेती प्रादेशिक अस्पतालमा अहिले दुई मात्रै शल्यक्रिया कक्ष छन्। अस्पतालमा अहिले हप्तामा दुई दिन मात्रै शल्यक्रिया हुने गरेको छ।
अस्पतालमा एक जना न्यूरो सर्जन, जनरल सर्जन ६ जना, अर्थोपेडिक सर्जन ६ जना, प्रसुति शल्य चिकित्सक ५ जना, एनेस्थीयोलोजिस्ट ३ जना र एनेस्थीया सहायक ५ जना स्वास्थ्य जनशक्ती रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ’सेती प्रादेशिक अस्पतालमा दुई शल्यक्रिया कक्ष रहेका छन्,’ उनले भने, ’थप शल्यक्रिया कक्ष र अन्य सेवा विस्तारका लागि योजना सहितको प्रस्ताव प्रदेश सरकार समक्ष पेश गरेका छौँ।’
एक जना सर्जनले एक दिनमा बढीमा चार जनाको शल्यक्रिया गर्न सक्छन्। तर सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया कक्षको अभावमा अहिले भएका जनशक्तिले पूर्ण क्षमतामा काम गर्न पाएका छैनन्।
अस्पतालमा आवश्यक शल्यक्रिया कक्ष थप गर्न र अन्य सेवा पनि थप गर्नुपर्ने प्रदेशवासीको माग छ। सेती प्रादेशिक अस्तालमा रहेका दुई शल्यक्रिया कक्षमा २ सेट जनरल सर्जरी, एक सेट अर्थो र तीन सेट प्रसुति शल्यक्रियाका लागि प्रयोग हुने गरेको अस्पतालले जनाएको छ। तर शल्यक्रिया गर्न नपाएर अन्यत्र जाने संख्या पनि उल्लेख्य रहेको छ।