भूकम्पले भत्काएका ३ सयभन्दा बढी स्वास्थ्य संस्था निर्माणाधीन, ५९ पुनर्निर्माण सुरु हुनै बाँकी
काठमाडौं, १४ कात्तिक । आज भन्दा ६ वर्षअघि गएको महाभूकम्पमा परी हजारौं मानिस घाइते बन्नुका साथै हजारौंको मृत्यु भएको थियो । उक्त विनाशकारी भूकम्पमा कति मानिस घरबारविहीन भए भने कैयौं टुहुरा भएका थिए । भूकम्पको कहालीलाग्दो घटनामा देशका महत्त्वपूर्ण सयौं भौतिक संरचना भत्किए । त्यसमा स्वास्थ्य संस्थाहरू पनि छन् ।
एक त यसै स्वास्थ्य संस्थाको अभाव, त्यसमाथि भएकापनि भूकम्पले भत्काइदिएपछि उपचारमा समस्या हुनु स्वभाविकै हो । तर, भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि भत्किएका संरचनाको पुनर्निर्माण जारी नै छ । भूकम्पपछि घरबिहीन भएका कतिपय नागरिकले अहिलेसम्म आवास निर्माण गर्न सकेका छैनन् भने स्वास्थ्य संस्थाहरू पनि ६ वर्षसम्म बन्न सकेका छैनन् ।
स्वास्थ्य संस्थाको पुनर्निर्माण
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले देशभरका एक हजार एक सय ६४ स्वास्थ्य संस्था भत्काएको थियो । भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि करिब ६५ प्रतिशत मात्रै स्वास्थ्य संस्था पुनर्निर्माण भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ७ सय ५१ वटा स्वास्थ्य संस्था मात्रै निर्माण भएका छन् । अझै ५९ स्वास्थ्य संस्थाको पुनर्निर्माण सुरु नै भएका छैनन् ।
क्षति पुगेका स्वास्थ्य संस्थामध्ये तीन सय स्वास्थ्य संस्था पूर्ण रुपमा ध्वस्त भएका थिए । यी स्वास्थ्य संस्थाको पुनर्निर्माण सुस्त देखिन्छ । स्वास्थ्य क्षेत्रको पुनर्निर्माण हेर्दा हाल तीन सय ५४ निर्माणाधीन रहेका छन् । ५९ स्वास्थ्य संस्थाको योजना तर्जुमा भएर चालु आर्थिक वर्षमा बजेट बिनियोजन गरिसकिएको छ ।
देशका ठूला अस्पतालहरू निर्माण सकिएको पनि धेरै समय भएको छैन् । पूर्ण रुपमा क्षति भएको वीर अस्पतालको पुरानो भवन र थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको भवन निर्माणको जिम्मा जाइकाले लिएको थियो । निर्माण सम्पन्न भई वीर अस्पताल र थापाथलीस्थित प्रसूतिगृहबाट सेवा प्रवाह भइसकेको छ । भूकम्पछि स्वास्थ्य संस्थाको निर्माणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग काम हुन सकेको छैन ।
तीन सय ६७ वटा नयाँ भवन बनाउने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार नुवाकोटको त्रिशुली अस्पताल कोरिया सरकारको सहयोगमा पुनर्निर्माण भइसकेको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले पनि नयाँ भवन बाटै सेवाहरु सुरु गरेको छ । अत्याधुनिक प्रविधिसहित पुनर्निर्माण गरिएको उक्त अस्पताल जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिदिएको हो ।
भूकम्पपछिको स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण निरन्तर भइरहेको र छिट्टै सम्पन्न हुने स्वास्थ्य मन्त्रालयले बताएको छ ।