ताप्लेजुङमा ३५ हजारले लगाए कोरोनाविरुद्ध दुवै खोप



Download our app to get more features

फुङलिङ , १३ कात्तिक ।  ताप्लेजुङ जिल्लामा हालसम्म ३५ हजार नागरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छन्। १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आए पनि नागरिकले खोपप्रति चासो नदेखाएको पाइएको छ।

जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए। तर, पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र लगाएको उनले बताए।

यस अवधिका ५० हजार जनाले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका नागरिकले लक्ष्यअनुसार कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अनिवार्य खोप लगाउन सबैमा आग्रह गरेको छ।

खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले अनिवार्य लगाउन समितिले आग्रह गरेको हो।

कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई संक्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

आआफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउन पाण्डेले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गरेका छन्।

खोप लगाउन अटेर गरेको पाइए संक्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नु आफ्नो बाध्यता हुने पनि उनको भनाइ छ। १८ वर्ष पूरा भएका जिल्लाका सबै नागरिकलाई पुग्नेगरी पर्याप्त खोप आएको जानकारी दिए।

उनका अनुसार पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको जिल्ला खोप व्यवस्थापन समितिले जनाएको छ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts