रामदेवको फार्मेसीलाई अनुमति दिन चलखेल सुरु, मन्त्री नै छलफलमा सक्रिय
काठमाडौैं, १३ कात्तिक । २ वर्ष अघि औषधि व्यवस्था विभागले अवैध घोषणा गरेको भारतीय योग गुरु रामदेवको एउटा कम्पनीलाई अनुमति फेरि चलखेल सुरु भएको छ ।
स्रोतका अनुसार मेडिसिटी अस्पतालका सञ्चालक तथा अर्वपति गैरआवासिय नेपाली डा.उपेन्द्र महतोले भारतीय ब्राण्डको दिव्य फार्मेसीलाई सञ्चालन स्वीकृति दिन सरकारी निकायका अधिकारीहरूलाई चर्काे दवाव दिएका छन् ।
एनआरएनएका संस्थापक अध्यक्ष महतो रामदेवको पतञ्जली कम्पनीको नेपाली साझेदार हुन् । त्यहीकारण उनले आफ्नो पहुँच प्रयोग गरेर भारतको उत्तराखण्डस्थित दिव्य फार्मेसी शाखा स्थापनाको लागि दवाव दिइरहेको जानकारी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नाम नखुलाउने शर्तमा बताएका छन् ।
दिव्य फार्मेसीको नेपाल शाखा वि.सं. २०६५ मा औषधि व्यवस्था विभागबाट स्वीकृति लिएर नै खोलिएको थियो । तर, त्यतिबेला पेश गरिएका कागजपत्र नक्कली भएको पुष्टि त्यसको एक दशकपछि २०७५ सालमा भएको थियो । नवीकरणका बेला फार्मेसीले नक्कली कागज पत्र पेश गरि अनुमति लिएको र कारोवार पनि शंकास्पद भएको भन्दै तत्कालीन् महानिर्देशक नारायणप्रसाद ढकालले नविकरण नगरि फार्मेसीको दर्ता नै खारेज गरि दिएका थिए । त्यसयता उक्त फार्मेसी बन्द रहेको छ ।
त्यस अगाडि दिव्य फार्मेसीबाट उत्पादित ६ वटा औषधिलाई गुणस्तरहीन रहेको बताउँदै बजारबाटसमेत सरकारले २०७४ सालमा तुरुन्त फिर्ता लिन निर्देशन दिएको थियो । त्यो निर्देशनलाई पनि उसले पालना नगरेको विभागका अधिकारीहरू बताउँछन् ।
विभागका सूचना अधिकारी सन्तोष केसीले नक्कली कागजपत्रका आधारमा दिव्य फार्मेसी सञ्चालनको अनुमति लिएको भए पनि ०७५ सालमा कारबाही स्वरुप बन्द गरिएको जानकारी दिए । अहिले पुनः स्वीकृतिका लागि निवेदन परेको उनको भनाइ छ ।
नेपाली आयुर्वेद उद्यमीहरूले उक्त फार्मेसीका गतिविधि भारतमै पनि शंकास्पद रहेको भन्दै कुनै पनि हालतमा स्वीकृति नदिन अनुरोध गर्दै आइरहेका छन् । तर, अहिले स्वास्थ्यमन्त्रीमा बिरोध खतिवडा आएसँगै स्वीकृति दिन राजनीतिक तहबाटै चलखेल सुरु भएको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले बताए ।
स्रोतका अनुसार गत २२ असोज गते स्वास्थ्य मन्त्री नियुक्त भएका खतिवडाले त्यसको एक साता नवित्तै तत्कालिन महानिर्देशक डा. आरपी विच्छालाई बोलाएर दिव्य फार्मेसीको विषयमा सोधीखोजी गरेका थिए । त्यस्तै मन्त्रालयकै अधिकारीहरूसँग पनि उनले पटक पटक यसबारेमा छलफल गरिसकेका छन् ।
२ दिन अगाडि सरकारले विभागको महानिर्देशकबाट विच्छालाई हटाएर डा. दिपेन्द्र रमण सिंहलाई पुन नियुक्त गरेको छ । गत साउन साउन अगाडि पनि विभागको महानिर्देशक रहेका उनलाई प्रधानमन्त्रीमा शेरवहादुर देउवा नियुक्त लगत्तै सरुवा गरि विच्छालाई लगिएको छ । अहिले फेरि विच्छालाई हटाएर सिंहलाई महानिर्देशक बनाउनुमा दिव्य फार्मेसीको प्रकरणसँग जोडेर हेरिएको छ ।
स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार डा. महतोले दिव्य फार्मेसीको सञ्चालन अनुमति दिलाउनको लागि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका विभिन्न नेताहरुमार्फत स्वास्थ्य मन्त्री खतिवडालाई दवाव दिइरहेका छन् ।