उपभोक्ता ठग्दै अस्पताल वरिपरिका पसलहरू
काठमाडौं, १३ कात्तिक । अस्पताललाई बिरामीलाई नयाँ जीवन दिने र उनीहरूको जीवनलाई रक्षा गर्ने स्थानको रुपमा लिने गरिन्छ । तर, अस्पताल आउने बिरामीहरूलाई आफ्नो कमाउने माध्यम बनाउने पनि बाटो ताकेर बसेका हुन्छन् । उपचारका लागि धनि मात्रै होइन सबै वर्गका मानिसहरू अस्पताल पुग्छन् । जो जान्ने बुझ्ने छन् उनीहरू त सुझबुझका साथ सामान खरिद गर्ने गर्छन् । तर, जो जान्नेबुझ्ने छैनन् उनीहरू ठगिन बाध्य छन् ।
सामान्य स्थान भन्दा अस्पताल वरिपरिका पसलहरूले विभिन्न किसिमका सामानहरूरु जस्तै फलफूल, हर्लिक्स, बिस्कुट, कुकिज, जुस, भर्खरै पाएका बच्चाहरूको कपडा, थर्मस लगायतका सामानहरू महँगोमा बेच्ने गरेको पाइएको छ । यस्ता वस्तुहरु आफन्तजन र शुभचिन्तकहरूले भेटघाटको क्रममा लगिदिने हुनाले ठगिँदै आएको उपभोक्ताहरू बताउँछन् ।
सिन्धुलीका रमेश श्रेष्ठका बुबाको आन्द्रामा समस्या आएर काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार गराउन अस्पतालमै बसे । उनले असोज २५ गते बुबाको अप्ररेसन गराए । अप्ररेसन पश्चात बिरामीको होस् आएपछि बिरामीलाई खुवाउनको निम्ती नर्सले काँचो नरिवलको जुस ल्याउन भने । उनी नजिकैको अस्पता अगाडि रहेको रोशन जुस एण्ड फ्रुट पसलमा गए । एउटा काँचो नरिवलको जुसको २ सय र स्याउको जुस एक वटाको तीस रुपैयाँ तिरे । सामान्यतया काँचो नरिवलको जुस बढीमा १ सय ३० र स्याउनको जुसको २५ रुपैयाँ मात्रै पर्ने गरेको छ । उनले प्रतिवाद त गरे तर जुस पसलका साहुनीले महिनाको ५० हजार भाडा तिरेको भन्दै प्रतिवाद गरिन् ।
जडिबुटी बस्ने साधना चौधरी डेलिभरीको लागि सोहि अस्पताल भर्ना भइन् । उनका श्रीमान रघुवीर यादव डेलिभरी गराउनको लागी सामान किन्न बाहिर रहेको चर्चित फार्मेसीमा गए । उनले डेलिभरी सेट त किने तर औषधिमा कति महङ्गो तिरे उनलाई थाहा भएन । किनकी औषधिबारे उनलाई केहि थाहा छैन । जब बिल हेर्दै गए । उनले बच्चाको लागि दौरा सेटको ४ सय चानचुन तिरेका रहेछन् । उनको छोरी जन्मिइन् । खुसियालीमा उनले यो कुरामा विवाद गर्न चाहेनन् । उनी भन्छन्, ‘बाध्यताले तिर्नै प¥यो । के गर्नु नलिइकन पनि भएको छैन ।’
माथिका यी दुई प्रतिनिधि घटना मात्रै हो । तर, यसरी दिनहुँ सयौँ उपभोक्तहरू ठगिँदै आएका छन् । तर उपभोक्तावादी सङ्घसंगठनहरू बैठकमै बजेट सकाउन व्यस्त भएको उपभोक्ता राजेन्द्रमान श्रेष्ठ बताउँछन् ।
केमसी अस्पताल मात्रै होइन काठमाडौं उपत्यकाकै वीर अस्पता, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल लगायत प्रायः सबैजसो अस्पताल र उपत्यका बाहिरका अस्पतालमा पनि यस्तै अवस्था छ ।
जनकपुरका मनिष साहको गुनासो छ, अरु बेला सामान किन्दा पर्ने मूल्यभन्दा अस्पताल वरिपरि भएका अस्पतालमा सामानहरूको मूल्य तिरि नसक्नु छ ।
यस्ता गुनासो सबै सर्वसाधारण र सेवाग्राहीको छ । तर, अस्पताल वरिपरि भएका पसलहरूमा के कस्तो मूल्यमा बिक्रि वितरण भइरहेको र गुणस्तर कस्तो छ भन्ने बारेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्न भ्याएको छैन । जसका कारण सेवाग्राही मात्रै होइन अस्पताल वरिपरि सामान किन्ने उपभोक्ताहरू ठगिँदै आएका छन् ।