डडेल्धुरा र डोटीमा टास–२ सर्वेक्षण गरिने,४७ विद्यालय छनोट
धनगढी,१० कात्तिक । धनगढी राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटीमा प्रसारण मूल्याकंन सर्वेक्षण ९टास–२० गरिने भएको छ ।
आउँदो मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले टास–२ सर्वेक्षण गर्न लागेका हो ।
यसअघि डडेल्धुरा र डोटीमा प्रि–टास र टास–१ सफल भइसकेको छ । टास–२ सर्वेक्षण सकिएको दुई वर्षपछि फेरि टास–३ भनेर अध्ययन हुनेछ । यहाँ तीनै सर्वेक्षणमा सफल भएपछि मात्रै यहाँ हात्तीपाइले निवारण भएको मानिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले जानकारी दिए ।
उनका अनुसार छनोट भएका डडेल्धुरा र डोटीका ४७ विद्यालयमा टास–२ सर्वेक्षण गरिनेछ । जसमा डडेल्धुराका १९ र डोटीका २८ विद्यालय रहेका छन् । विद्यालयमा अध्ययनरत कक्षा १ र २ का बालबालिमा यो सर्वेक्षण गरिने शाहले बताए ।
सर्वेक्षण गरिएको भगौलिक क्षेत्रमा हालै नयाँ संक्रमण छ कि छैन यकिन गर्न, हात्तीपाइले रोग निवारण, आम औषधी सेवन कार्यक्रमको प्रभावकारीता मापन गर्ने र विगतमा संचालन गरिएका सर्भेका नतिजाहरुसँग तुलना गर्न पनि टास–२ सर्वेक्षण गर्न लागिको जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले बताए ।
कक्षा १ र २ का छात्र छात्राहरू हात्तीपाइलेको आम औषधि सेवनपछि जन्मेको हुँदा उनीहरूमा यो सर्वेक्षण गरिने जुनियर इन्टोमोलोजिष्ट शाहले बताए ।