'क्यान्सर हुँदा भेट्न आउनेसाथीहरू रुन्थे, तर म उनीहरूलाई सम्झाउँथें'
२०७६ सालको कुरा हो । वैशाख जेठको समयमा मेरो दाहिने पट्टिको निपल भित्र गएको थियो । त्यसपछि मलाई किन यस्तो भयो भन्ने लागेर साथीहरूलाई सोधे । तर, साथीहरूले त्यस्तो केहि होइन होला भन्नुभयो ।
त्यसको ६/७ महिनापछि मैले एकजना चिनजानकै दिदिलाई सोधे । त्यो बेलामा मेरो निपल भित्र गइकन गाठोहरू भइसकेको रहेछ । दिदिलाई शङ्का लागेर मलाई केहि नभनि एकपटक अस्पताल गएर देखाउ है भनेर सल्लाह दिनुभयो ।
नेपालमा त्यतिबेला कोरोना महामारीका कारण देशमा पहिलो लकडाउन थियो । लकडाउनको समयमा नै म जँचाउनका लागि अल्का अस्पताल गए । अस्पतालमा अल्ट्रसाउण्ड, सिटिस्क्यान गरेपछि डाक्टरले तपार्इंलाई केहि भएको छैन्, भिटामिन ई को कमी भएको छ भनेर भन्नुभयो ।
डाक्टरले भिटामिन ई दिएको छु त्यो खाएर ३ महिनापछि आउनु भन्नुभयो । डाक्टरले ३ महिनापछि आउनु भनेपनि म देखाउनका लागि ३ महिनामा ३ चोटि नै अस्पताल गए ।
त्यतिबेलासम्म अस्पतालले मलाई नर्मल नै छ भन्नुभएको थियो । तर, पछि विस्तारै गाँठो बनेर दुख्दै आयो । त्यसपछि मेरो छोरीले मलाई भक्तपुरको क्यान्सर अस्पताल जाउ भनेर भन्यो । त्यसपछि मैलेपनि उसको कुरामा सहमति जनाए । हामी साउन २२ गते अस्पताल गयौं ।
साउन २२ गते जँचाएको मेरो भदौ १ गतेमात्र रिर्पोट आयो । रिर्पोट आएपछि डाक्टरले मलाई क्यान्सर भएको छ भनेर भन्नुभयो । डाक्टरको कुरा सुन्दा म एकछिन झस्याङ्ग र्भ । मलाई पत्यार नै लागेन । ३ महिना अघिसम्म अल्का अस्पतालले नर्मल छ भनेकोमा ३ महिना पछाडि क्यान्सर भयो भनेर सुन्दा । यस्तो नी हुन्छ ? कसरी भयो अचानक ? यस्ता कैयन प्रश्नहरू मनमा उब्जे । तर, फेरि डाक्टरले नै भनेको कुरामा विश्वास नगरे के गर्ने भन्ने पनि भयो ।
त्यो समयमा म आफैंलाई सम्हाल्न गाह्रो भएको थियो । अरुलाई हामीले जति सहजै सम्झाउछौं आफूलाई पर्दा त्यस्तो नहुँदो रहेछ । ३ महिना अगाडि नै अल्का अस्पतालले क्यान्सर भएको छ भन्दिएको भए मलाई गाह्रो हुँदैन थियो होला कि भन्ने लाग्यो ।
मेरो क्यान्सरको चरण अन्तिम चरणमा पुगेको थिएन । तर, ढिलो भने भइसकेको थियो । यदि मैले स्तन नहटाएको भए सायद म बाँच्दिन थे होला । त्यसकारण डाक्टरको सल्लाह अनुसार नै शल्यक्रिया गरेर मेरो स्तन काटेर हटाउनुपर्यो । एउटा स्तन नहुँदा मलाई अप्ठ्यारो महसुस त हुन्छ । तर, त्योभन्दा बढी दुःख हुन्छ त्यो सोचेर, अल्काले मलाई सुरु मै स्क्रिनिङ्ग गरेर के हो भनेर भनिदिएको भए सायद मेरो स्तन काट्नु पर्दैन थियो कि भनेर ।
मलाई भएको क्यान्सर फिजिएर हुने क्यान्सर हो भनेर डाक्टरले भन्नुभएको थियो । अर्को स्तनमा गाठोहरू भएर पनि क्यान्सर हुन्छ रे । फिजिएर भएको हुँदा स्तन काट्नुपरेको डाक्टरले बताएका थिए ।
क्यान्सर पत्ता लागेपनि डाक्टरले कसरी उपचार गर्ने भन्ने कुरामा नै अन्योल थियो । पटपटक म आफैले फोन गरेर सोध्दा डाक्टरले स्तन कति काट्ने ? के गर्ने भन्ने कुरा अन्योल भयो भनेर जवाफ दिनुहुन्थ्यो । त्यस पछिको समय कसरी बिते म भन्न सक्दिन । मेरो प्रेसर ५०÷६० मा झरेको थियो ।
क्यान्सर हुँदा म ४४ वर्षको थिए । क्यान्सरको अप्रेशन गरेको ३ महिना पछि नै म नर्मल मान्छे जस्तो भइसकेको थिए । मेरो छोरीले पनि नर्स पढिरहेकी छिन् त्यसैले मलाई झनै सहज भयो । परिवारमा श्रीमानको छोरोछोरीको राम्रो साथ पाए मैले ।
साथिभाई मलाई भेट्न आउँदा रोएर फर्कने गर्दथ्ये । तर, म उनीहरूलाई नै सम्झाउथ्ये । मलाई त थाहा नभएर क्यान्सर भइहाल्यो तिमीहरूले ख्याल गर्नु, एक डाक्टरले केहि नभने अरु विकल्पमा जानु भन्ने जस्ता सल्लाह पनि दिन्थे । अहिले पनि भन्छु ।
एकदिन मैले बिनु केसीको डियर कल्याण सुने । उहाँबाट म धेरै नै प्रभावित भए । त्यो सुनेपछि म मा झन् एउटा उर्जा थपियो । मैले केहि गर्न सक्छु भन्ने साहस थपियो ।
त्यसपछि मैले केहि गनुपर्छ भन्ने लागेर म क्यान्सर सर्भाइभर सोसाइटिसँग जोडिएको छु । सर्भाइभर सोसाइटिबाट मलाई धेरै नै सहयोग गर्नुभयो । अहिले त्यसको कार्यसमिति सदस्य भएर काम गरिरहेको छु ।
सोसाइटिले क्यान्सर पीडित व्यक्तिहरूलाई सहयोग गर्ने गर्छ । त्यसैले सक्नुहुन्छ भने हामीलाई सहयोग गर्न अनुरोध गर्दछु ।
अन्तिममा, नेपालमा पनि प्रायः क्यान्सरको उपचार हुन्छ । अधिकांश व्यक्तिहरूमा क्यान्सरको जोखिम हुने भएकाले यसबाट कसरी जोगिने भन्नेमा सचेत हुनुपर्छ । साथै क्यान्सरबारेको सचेतना फैलाउनका लागि जति हुन्छ जसरी हुन्छ सबैले काम गर्नुपर्छ । किनकी जानकारी अभावका कारण पनि मानिसहरूले थाहा नपाउने हुँदा मृत्युको मुखमा पुगिरहेको देखिन्छ ।
नेपालमा स्तन क्यान्सर पछिल्लो समय निकै नै बढ्दै गएको कारणले यसबारेको सचेतनाबारे सक्दो बढी फैलाउने काममा सबै लाग्नुपर्ने हुन्छ ।