नेपालमा बुस्टर डोज कहिले ? के हो बुस्टर खोप ? जानौं
काठमाडौं, ४ कात्तिक । यतिबेला कोरोनाविरुद्धको खोपको बुस्टर लगाउने कुराले सबैतिर चर्चा पाइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि खोप लगाइसकेकाहरूले बुस्टर खोप लगाउने विषयमा विश्वभर नै चर्चाको विषय बनेको छ ।
बुस्टर डोज अमेरिकामा लगाउन अनुमति दिइसकेको छ भने युरोपमा पनि कतिपय मुलुकले बस्टर लगाउन थालेका छन् । बुस्टर खोपको चर्चासँगै नेपालमा पनि नेपालमा यतिबेला बुस्टर डोजको चर्चा भइरहेको छ । अहिले धेरैको चाँसोको विषय पनि बुस्टर डोज के हो ? कसले लगाउने ? कहिले लगाउनेमा देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक ३ गतेसम्म कुल जनसङ्ख्याको २१ दशमलव ४ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै लक्षित जनसङ्ख्या (१८ वर्ष वा सो भन्दा माथि) का ३२ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
अझैपनि देशको ठूलो जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाउन नपाएको अवस्थामा बुस्टर डोजको चर्चा भने उत्तिकै बढेको छ । तर, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.सागर दाहाल भने बुस्टर डोजको चर्चा चलेपनि त्यसको बारेमा कुनै ठोस निर्णय नभएको बताउछन् ।
डा.दाहाल भन्छन्, ‘विश्व स्वास्थ्य संगठनको खोप समितिले कोरोनाविरुद्धको खोपको बुस्टरको विषयमा हालसम्म कुनै पनि ठोस निर्णय भएको छैन । यस विषयमा छलफल भएपनि त्यसको अनुसन्धानको रिर्पोट नआएसम्म बुस्टर डोजको बारेमा निर्णय गर्न सकिँदैन । त्यसकारण नेपालमा बुस्टर कहिले लगाउने हो पनि यकिन छैन ।’
के भन्छ विश्व स्वास्थ्य संगठन ?
केहि समय अगाडि बसेको विश्व स्वास्थ्य संगठनको बैठकमा बुस्टर डोजबारे छलफल भएको थियो । तर, विश्व स्वास्थ्य संगठनले नेपालमा बुस्टर डोजको आवश्यकता छ कि छैन् भन्ने बारेमा रिर्पोट भने दिएको छैन् ।
यदि विश्व स्वास्थ्य संगठनले नेपालमा बुस्टर डोजको आवश्यकता रहेको भन्ने रिर्पोट दिएमा नेपाल सरकारसँग छलफल गरिने डा।दाहाल बताउछन् ।
के हो बुस्टर डोज ?
बुस्टर डोज भनेको खोपको अतिरिक्त डोज हो । जसले सङ्क्रमणविरुद्ध थप सुरक्षा प्रदान गर्छ । बुस्टर खोप धेरै भाइरल सङ्क्रमणका लागि सामान्य नै हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार खोपको पूर्ण मात्रा पूरा गरिसकेकामा समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा क्रमशः ह्रास आउँदै गए फेरि खोपको आवश्यकता पुरा गर्न ‘बुस्टर डोज’ लगाइने गरिन्छ ।