दसैँ लगतै आउने भनिएको फाइजर र मोर्डनाको खोप अर्को महिना मात्रै आउने
काठमाडौं, ३ कात्तिक । बालबालिकालाई लगाइने कोरोनाविरुद्धको फाइजर र मोर्डना खोप अर्को महिना मात्रै आउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको र दशैँलगत्तै खोप लगाउन शुरु गरिने बताएका थिए ।
तर, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल, खोप खरिदको सबै प्रक्रिया पुरा भइसकेको र खोप यहि वर्षको नोभेम्बर डिसेम्बरमा आउने बताउछन् ।
यदि नोभेम्बर डिसेम्बरमा खोप नआए अग्रेजी वर्ष २०२२ को जनावरी फ्रेवअरी सम्ममा ल्याउने गरी तयारी गरिरहेको दाहाल बताउछन् ।
खोप ल्याउने तयारी कस्तो छ ?
खोप एकैपटक ल्याउन नसकिने भएकाले कम्पनीले खोप कसरी उपलब्ध गराउँछ त्यो आधारमा खोप आउने दाहालको भनाइ छ ।
उनी भन्छन्, ‘एकैपटक ल्याउँदा भण्डारण गर्नलाई पनि समस्या हुन्छ, हाम्रो योजना अनुसार फाइजर खोप ४ लटमा र मोडेर्ना खोप पनि त्यहिअनुसार ल्याउछौं ।’
कसरी गरिँदै छ खोपको व्यवस्थापन ?
दाहालका अनुसार मोडेर्ना खोप माइनस २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने र त्यस्ता फ्रिजहरू सबै जिल्लामा रहेका छन् ।
त्यस्तै फाइजर खोप माइनस ६० डिग्रीदेखि ८० डिग्री सेन्टिग्रेटमा भण्डारण गनुपर्ने हुन्छ । त्यसका लागि अल्ट्रा कोल्ड चेन भएको फ्रिज आवश्यक हुन्छ । त्यस्तो खालको फ्रिज नेपालमा अहिले ४ वटा मात्रै रहेको छ ।
अन्य फ्रिज खोप ल्याउँदा खोपसँगै फ्रिज ल्याउन लागिएकोे दाहाल बताउछन् । त्यसपछि फाइजर खोप केन्द्रमा नै भण्डारण गरिने उनले बताए ।
कस्तो छ वितरणको तयारी ?
खोप अभियान समय हेरेर निर्धारण गरिने दाहालको भनाइ छ । नेपालमा मनाइने विभिन्न चाडपर्व, बालबालिकाहरूको विद्यालय समय र मौसमको अवस्थालाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरिने उनले बताए ।
डा.दाहालले मोडेर्ना खोप सबै जिल्लामा भण्डारण गर्ने फ्रिज हुँदा जिल्लामा नै पठाइने छ भने फाइजर खोप केन्द्रमा भण्डारण गरेर खोप अभियान सञ्चालनको समयमा पठाइने जानकारी दिए ।
फाइजर खोप अल्ट्रा कोल्ड चेन्ज फ्रिजबाट निकालेपछि २ देखि ८ सेन्टिग्रेटमा भण्डारण गर्न सकिन्छ र त्यो ३१ दिनसम्ममा प्रयोग गर्न सकिन्छ । त्यसैले ३१ दिनसम्म खोप लगाइसक्ने गरी तयारी गरिरहेको दाहाल बताउछन् ।
सरकारले बालबालिकाको लागि कोरोनाविरुद्धको ४० लाख मोडेर्ना र ६० लाख फाइजर खोप खरिद गर्न लागेको हो ।