नेपालमा ६४ लाख ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३१ असोज । नेपालमा हालसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ६४ लाख ६९ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
गत माघ दोस्रो सातादेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ। त्यस यता खोप उपलब्ध नभएको समय र दशैंको बिदाका कारण केही दिन खोप कार्यक्रम रोकिए पनि अन्य समयमा भने खोप कार्यक्रम निरन्तर चलिरहेको छ। मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ।
नेपालका ३८.६ प्रतिशत (८३ लाख ८८ हजार ४०२ )जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्। सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनालाई खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।
सरकारले दशैंअघिसम्म लक्षित जनसंख्यामध्ये एक तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो। नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।
१८ वर्षमुनिका बालबालिकाका लागि नेपालमा फाइजर र मोडर्ना खोप आउने भएको छ। फाइजरको एक लाख डोज खोप भने अबको केही दिनभित्र आउने बताइएको छ।