नियमित औषधि सेवन गरे निको हुन्छ क्षयरोग (भिडियोसहित)

सरकारले पनि मनायो विश्व क्षयरोग दिवस



Download our app to get more features

काठमाण्डौं, ११ चैत्र । काठमाण्डौंकी कल्पना गौतम बिगत ३ महिनादेखि क्षयरोगको औषधि सेवन गरीरहेकी छन् । खाना खान मन नलाग्ने, साँझपख ज्वरो आउने र तौल घट्दै जाने लक्षण देखा परेपछि उनी अस्पताल गएकी थिइन् । 
क्षयरोगको लक्षण देखापरेपछि चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गरेकी गौतम आफूलाई सुधार भइरहेको बताउँछिन् । 
‘क्षयरोगको लक्षण देखा परेपछि डाक्टरहरुको नियमित निगरानीमा औषधि सेवन गरीरहेकी छु’ गौतमले भनिन्, ‘तीन महिनामा धेरै सुधार भएको छ ।’
गौतमजस्तै सबै बिरामीले शंका लाग्ने बित्तिकै स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरे क्षयरोग निको हुने चिकित्सकहरु बताउँछन् । नेपालमा ८५ प्रतिशत क्षयरोग फोक्सोको संक्रमणबाट र २५ प्रतिशत शरीरका अन्य भागमा हुने संक्रमणबाट लाग्ने चिकित्सकहरुको भनाई छ । 
रोग प्रतिरोधात्मक क्षमता कम्जोर भएका व्यक्तिमा चाँडै नै यो रोगको संक्रमण हुने क्षयरोग निवारण संस्थाकी अध्यक्ष तथा विशेषज्ञ डा. भावना श्रेष्ठले बताइन् । 

लक्षण थाहा पाएलगत्तै नियमित औषधि सेवन गरे निको हुने सरुवा रोग भएपनि जनचेतना नहुँदा क्षयरोगको बेलैमा उपचार गर्न चासो नदेखाउने प्रवृत्ति रहेको चिकित्सकहरु बताउँछन् । 
परिवारमा कुनै सदस्यलाई क्षयरोगको लक्षण देखा परे अन्य सदस्यले पनि क्षयरोग परिक्षण गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । हावाबाट सर्ने रोग भएकाले क्षयरोगबाट बच्न धेरै मानिसको घुइँचो हुने स्थानमा मास्क तथा रुमालको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ । त्यसैगरी नियमित स्वास्थ्य परिक्षण गरे क्षयरोगबाट बच्न सकिने विशेषज्ञहरुको सुझाव छ । 

सरकारले पनि मनायो विश्व क्षयरोग दिवस
 

क्षयरोग अन्त्यका लागि सबै संगठित होऔं भन्ने नाराका साथ नेपाल सरकारले पनि विश्व क्षयरोग दिवस मनाएको छ । क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीवार कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले क्षयरोग नियन्त्रणका लागी सबैभन्दा पहिले गाउँ गाउँसम्म जनचेतना बिस्तार गर्नुपर्नेमा जोड दिए । सरकारले क्षयरोग उन्मुलनको लागी विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको उनको दावी छ । 

मन्त्री चौधरीले स्वस्थ्य नेपाल बनाउन निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग अत्यावश्यक  रहेकाले उनीहरुलाई पारदर्शी बन्न आग्रह गरे ।  राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले नेपालमा जनचेतनाको अभाव, रोग लुकाउने प्रवृत्तिका कारण अझै हजारौं बिरामीलाई उपचारको पहुँचमा ल्याउन नसकिएको बताए । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. जोस ब्लेट्रिले क्षयरोग न्यूनिकरणका लागि नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।  विश्व स्वास्थ्य संगठनले सन २०३५ सम्ममा विश्वभरबाट क्षयरोग उन्मुललन गर्ने लक्ष्य लिएको छ ।  यद्यपी अहिले पनि नेपालमा क्षयरोगका कारण वषेर्नी ४ देखि ५ हजार मानिसले ज्यान गुमाउँछन् ।
 

Last modified on 2016-03-25 16:48:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts