अन्धोपन हटाउन प्रदेश २ र कर्णालीमा रेडक्रस र आँखा प्रतिष्ठानको सम्झौता
काठमाडौं,२६ असोज । नेपाल रेडक्रस सोसाइटी र नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानबीच प्रदेश नं २ र कर्णाली प्रदेशका सर्वसाधारणमा देखिएको अन्धोपनको समस्यालाई समाधान गर्ने सम्झौता भएको छ ।
सोसाइटीका महामन्त्री पिताम्बर आचार्य र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबीच ती दुई प्रदेशमा आँखाको स्वास्थ्यको प्रर्वद्धन गर्ने गरी गुणस्तरीय आँखा उपचार सेवालाई प्रभावकारी बनाउँदै सर्वसाधारणमा देखिएको अन्धोपन हटाउने सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा सोसाइटीको आँखा अस्पताल, सामुदायिक आँखा उपचार केन्द्र वा स्थानीय सरकारसँग सहकार्य गरी विशिष्टीकृत सेवा प्रदान गर्नसक्ने नमूनाको आँखा स्वास्थ्य सेवा स्थापित गराउने उल्लेख छ । आँखा स्वास्थ्य सेवामा पहुँच नपुगेको नागरिकको पहुँच पुर्याउन सामुदायिक आँखा सेवा कार्यक्रममार्फत रोकथाम, उपचारात्मक एव प्रवद्र्धनात्मक सेवा पुर्याउने सहमति पत्रमा उल्लेख छ ।
यस्तै आँखा स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउन सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारसँग सहकार्य गरी स्थानीय सरकारी स्वास्थ्य संस्थामा आँखा उपचार सेवाको विस्तार गर्ने, सोसाइटीबाट सञ्चालित अस्पताललाई विभिन्न विशेषज्ञ सेवाका साथै शैक्षिक र खोज अनुसन्धानमूलक संस्थाका रूपमा विकास गर्दै लगिने र आवश्यक जनशक्ति विकास गर्दै लैजाने उल्लेख छ ।
रासस