दसैँको बेला सहरबाट गाउँ जाने क्रम बढ्दो, कोरोनाको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन आग्रह



Download our app to get more features

काठमाडौं, २६ असोज । सरकारले चाडबाका बेला मानिसहरू सहरबाट घर जाने क्रम बढेपछि कोरोनाको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

दसैँको समयमा मानिसहरूको आवतजावत बढ्ने र भिडभाड बढ्ने हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सकेसम्म यो वर्ष पनि आफू हाल रहेकै स्थानमा दसैँ मनाउन आग्रह गरेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बजारमा अत्यधिक भिडभाड बढेको र मानिसहरूको ओहोरदोहोर पनि बढेको हुँदा त्यसले कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले संयमित भएर दसैँ मनाउन आग्रह गरे ।

उनले कोरोना सङ्क्रमणको दरमा पछिल्लो समय कमी आएपनि जोखिम कायमै रहेको हुँदा सकेसम्म योवर्ष पनि संयमित अपनाएर जो जहाँ छन् त्यहि बसेर दसैँ मनाउन आग्रह गरे ।

चिकित्सकहरूले पनि सहरबाट गाउँ जानेहरूको लर्को लागेको हुँदा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

कोरोनाविरुद्धको खोपको पहुँचमा गाउँघरका सबैजना नहुँदा खोप लगाइसकेकाले सङ्क्रमण सार्न सक्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले बताए ।

उनले दसैँको बेला जसरी गत वर्ष स्थानीय सरकारले सक्रियता देखाएर क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने भन्दै नागरिकले स्वयंपनि सावधानी अपनाउनुपर्ने बताए ।

डा.पुनले भने, ‘कोरोनाविरुद्धको खोपको पहुँचमा अझैपनि सबैजना नभएका कारण खोप लगाइसकेकाले कोरोना सार्न सक्ने सम्भावना रहन्छ । खोप लगाएकाहरूमा आफूले खोप लगाइसक्दा केही हुन्न भन्ने भ्रम देखिएको हुँदा त्यसलाई वेवास्ता गर्नु उचित हुँदैन । खोप लगाएकालाई कोरोनाको सङ्क्रमण हुन सक्ने र उनीहरूले थाहै नपाई अरुलाई सङ्क्रमण सार्न सक्ने सम्भावना हुन्छ । त्यसकारण खोप लगाएकाहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने हुन्छ ।’

हालसम्म गाउँघरमा कतिजनामा सङ्क्रमण भयो भन्ने यकिन तथ्याङ्क नरहेको र कतिले कोरोनाविरुद्धको खोप लगाए भन्ने पनि यकित तथ्याङ्क नरहेका कारण उनीहरू कोरोनाको उच्च जोखिममा रहेको डा. पुनको भनाइ छ ।

उनी भन्छन्, ‘कोरोना महामारीकाबीच दसैँ मनाउँदै गर्दा विशेष सावधानी अपनाउनुपर्छ । अन्यथा खोप लगाएको भन्दैमा जथाभावी हिँडडुल गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा फेरि सङ्क्रमण फैलिने जोखिम बढ्छ । त्यसकारण सबैले सावधानी अपनाएर, कोरोना परीक्षण गराएर मात्रै घरमा प्रवेश गर्दा राम्रो हुन्छ ।’

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । सक्रिय सङ्क्रमित पनि घट्दै गर्दा जथाभावी हिँडडुल गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा त्यसले कोरोनाको अर्को लहर आउन सक्ने भएकाले सबै सँधै सतर्क र सचेत रहनुपर्ने हुन्छ ।

Last modified on 2021-10-12 16:00:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts