नेपालमा एक महिनामा झन्डै ६० प्रतिशतले कोरोना सङ्क्रमणको दर घट्यो
काठमाडौं, २३ असोज । नेपालमा कोरोना सङ्क्रमणको दर गत एक महिनामा झन्डै ६० प्रतिशतले घटेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ पहिलो साता देशभर ४० हजार ३ सय ३८ सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो साता देशभर जम्मा १५ हजार ६ सय १४ सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो एक महिनामा ६० प्रतिशले सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले नागरिकमा कोरोनाप्रतिको जनचेतना र जनस्वास्थ्यका मापदण्ड पालनाका कारण सङ्क्रमण दरमा कमी आएको बताए ।
उनले नेपालमा पछिल्लो समय जारी खोप अभियान र खोप लगाएपनि सङ्क्रमित हुन सकिने जनचेतनाका कारण सर्वसाधारले जनस्वास्थ्यका मापदण्ड पालना गरेको बताए ।
यस्तै हालसम्म देशभर कोरोनाविरुद्धको पूर्ण मात्रा खोप झन्डै ३० प्रतिशतले लगाएका छन् भने ३७ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।