नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा लाग्छु : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं, २३ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताएका छन्।
मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरूलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिवद्धतासमेत व्यक्त गरे। शुक्रबार साँझ सिंहदरवारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने बताए।
‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबभन्दा बढी ध्यान केन्द्रित गर्छौं र यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुपर्ने कामहरूलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरू नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ’ उनले भने।
नवनियुक्त मन्त्री खतिवडाले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राम्रो काम गर्ने बताए।