कपिलवस्तुमा झाडापखालाको प्रकोप, दुई जनाको मृत्यु, एक सय बढी बिरामी
कपिलवस्तु, २० असोज । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकाेपबाट २ जनाको मृत्यु भएको छ । झाडापखलाका कारण एक सयभन्दा बढी बिरामी परेका छन् ।
झाडापखलाबाट वडा नं. ९ बहादुरगन्जमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ वर्षीय राज कश्यप र ४० वर्षीय राम प्रसाद केवट रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । बालक कश्यपको स्थानीय निजि क्लिनिकमा उपचारको क्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेले बताए ।
नगरपालिकाको वडा नम्बर ५, ७, ८, ९ मा प्रकोप फैलिएको उनले बताए । झाडापखालाको प्रकाेप फैलिएपछि शिवराज अस्पताल, निजि क्लिनिक र स्वास्थ्य चौकीहरुमा बिरामीको चाप बढेको छ ।
बहादुरगन्ज अस्पतालमा एक सयभन्दा बढी बिरामीहरु उपचार गराइरहेका छन् भने गम्भिर बिरामीहरुलाई थप उपचारका लागि बुटवल र तौलिहवामा पठाइएको छ ।
झाडापखाला प्रकाेप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली बहादुरगन्ज पुगेको र प्रदेशबाट उपचार टोली समेत त्यहाँ पुगेका छन् ।