नेपालमा क्षयरोगीको सर्वेक्षण हुने !
 
            काठमाण्डौं, ११ चैत । नेपालमा क्षयरोगीको संख्या कति ? पत्ता लगाउन राष्ट्रिय क्षयरोग केन्द्रले ‘टिवी प्रिभ्यालेन्स सर्वे’ गर्दैछ । चालू आर्थिक २०७२/०७३ मा सुरू भई तीन वर्षमा सकिने सर्वेमा क्षयरोग नियन्त्रण गर्न चालिुनपर्ने उत्तम उपायबारे पनि नयाँ तथ्य आउने अनुमान गरिएको छ । नेपालमा हाल ४६ हजार क्षयरोगी रहेको अनुमान छ । 
यसैवर्ष केन्द्रमा ५० श्ययाको छाती रोग अस्पताल निर्माण कार्य पनि सुरु हुँदैछ । आर्थिक वर्ष २०७१/०७२ मा मात्रै ३४ हजार १ सय २१ जना क्षयरोगी डट्स उपचार पद्धतिमा दर्ता भएको केन्द्रले जनाएको छ । तीमध्ये खकारमा क्षयरोगका किटाणु देखा परेका (सर्ने खालका) क्षयरोग बिरामीको संख्या १८ हजार ४ सय ६० रहेको केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईंले बताए । 
क्षयरोगको बढ्दो प्रकोपलाई ध्यान दिँदै सरकारले यसको नियन्त्रण र रोगथामका लागि प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि डट्स उपचार रणनीति सुरु गरेको छ । 
सन् १९९६ मा नमुनाका रुपमा सुरु गरिएको डट्स उपचार पद्धति ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका साथै निजी स्वास्थ्य संस्था गरी चार हजार २ सय २१ उपचार केन्द्रबाट एकीकृत स्वास्थ्य सेवाको निःशुल्क उपचार सेवा दिँदै आएको छ । हाल ५ सय ८१ माइक्रोस्कोपिक केन्द्रबाट शंकास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आएको केन्द्रले जनाएको छ । 
रासस
 
                
                
- 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                