गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्नुपर्ने सुझाव दिँदै विज्ञ टोलीले सरकारलाई बुझायो प्रतिवेदन
धनगढी, १६ असोज । गेटा मेडिकल कलेज सञ्चालनबारे ठोस सुझाव दिन गठन गरिएको उच्चस्तरीय समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। संघीय स्वास्थ्य मन्त्रालयले मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका डा. चेतराज पन्तको नेतृत्वमा गठन गरेको विज्ञ टोलीले प्रतिवेदन बुझाएको हो।
संघीय स्वास्थ्य मन्त्रालयको कार्यदेशअनुसार मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार पारेर बुझाएको समितिका संयोजक डा। पन्तले बताए। ‘प्रतिवेदन तयार गरेर संघीय स्वास्थ्य राज्यमन्त्रीलाई बुझाएका छौं,’ डा. पन्तले भने, ‘प्रतिवेदन बुझ्दै राज्यमन्त्रीले पनि यस विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताएका छन्।’
डा. शेखरबाबु रिजाल, डा. जीवन क्षेत्री, डा. दिलिप शर्मा, डा. मुकुन्द जोशी, डा. हरी लम्साल, डा. प्रमोद जोशी, डा. हेमराज पनेरु र डा. पदमबहादुर चन्दसहित मन्त्रालयका सहसचिव र योजना आयोगका सहसचिव सम्मिलित १३ सदस्यीय समितिले उक्त प्रतिवेदन तयार गरेको हो। विज्ञहरुको टोलीले तयार गरेको प्रतिवेदनमा गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको अध्यक्ष डा. पन्तले बताए। ‘राज्यमन्त्री ज्यूले पनि प्रतिवेदनकै सुझावका आधारमा अगाडि बढ्ने जनाएका छन्,’ उनले भने।
सुदूरपश्चिममा मेडिकल शिक्षाको अध्यापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मेडिकल विश्वविद्यालयको प्रारुप आवश्यक रहेको उनले बताए। यस क्षेत्रको भौगोलिक बनावटासँगै स्वास्थ्य क्षेत्रको परनिर्भतालाई ध्यानमा राखेर संघीय सरकारलाई सुझाव दिएको बताउँदए पन्तले भने, ‘अरु स्थानमा प्रतिष्ठान पनि छन्। सुदूरपश्चिममा छैन। त्यसकारण पनि स्वतन्त्र, स्वायंत्त रुपमा मेडिकल विश्वविद्यालय आवश्यक छ।’
उक्त समितिलाई गेटामा शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक पर्ने भौतिक तथा प्राज्ञिक पूर्वाधार, कानूनी व्यवस्था, स्रोत व्यवस्थापनलगायतका विषयमा अवस्थाको यकीन गरी ठोस सुझाब दिन कार्यदेश तोकिएको थियो। अस्पताल सञ्चालन र शैक्षिक कार्यक्रम सुरु गर्नका लागि आधारभूत भौतिक संरचना तयार भए पनि प्रारुपकै कारण ढिलाई हुने देखिएको छ।
ऐन कानून तथा नीति तयार नहुँदा अझै समय लाग्ने गेटा मेडिकल कलेज पूर्वाधार समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। ‘सञ्चालनका लागि अझै महत्वपूर्ण भनेको फोहर व्यवस्थापन, खानेपानी र विद्युत विस्तार पनि हो,’ उनले भने, ‘यो प्याकेजको काम पहिले नै हुनुपर्ने हो तर भएन। अब यो प्याकेजको काम पनि चाडै हुन्छ।’ भौतिक संरचना निर्माणसहित यस क्षेत्रको आवश्यकतालाई आधार बनाएर मेडिकल विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्नुपर्ने माग उठिरहेको छ।