धनगढीमा कोरोना खोपको दुवै डोज लगाएका २ संक्रमितको मृत्यु
धनगढी, १५ असोेज । धनगढीमा कोरोना विरुद्धको दुवै डोज खोप लगाएका २ जना संक्रमितको मृत्यु भएको छ। पछल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुष र वडा नम्बर ५ का ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सेती अस्पतालले जनाएको छ।
७५ वर्षीय वृद्धमा १३ गते र ९० वर्षीय वृद्धमा १४ गते कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। दुवैले कोरोना विरुद्धको खोप लगाएको उनले बताए। ७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
पछिल्लो २४ घण्टामा अप्पतालमा भएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्। जसमध्ये ५ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै आज ६ जना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ।