सेती अस्पताललाई तीन सय शैय्याको बनाउने तयारी
धनगढी, १५ असोज । सेती प्रादेशिक अस्पताललाई तीन सय शय्याको बनाउने तयारी थालिएको छ। प्रदेश सरकारले अस्पतालको स्तरोन्नति गर्ने तयारी थालेको हो। सोही तयारीअन्तर्गत बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड रुपैयाँ स्वीकृत गरेको छ।
सेती प्रादेशिकलाई तीन सय शैया बनाउन बिस्तृत परियोजना अध्ययन (डीपीआर) प्रतिबेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाइन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरिएको प्रदेश सरकारकी प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्। सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको उनको दाबी छ।
सेती अस्पताल ३८ वर्षदेखि स्तरोन्नतीको पर्खाइमा छ। अस्पतालको स्तरोन्नति नभएकै कारण सेवालाई प्रभावकारी बनाउन नसकिएको अस्पताल प्रशासनले बताउँदै आएको छ। विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नति भएको थियो। अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल संचालन भएको छ।
सेती अस्पतालमा ५० शैया नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शैया अस्पताल आँफैले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शैयामा भए पनि विरामीको चाप निकै बढि हुँदा झण्डै २ सय ५० शैयामा अस्पताल संचालनमा छ। यस्तै प्रदेश सरकारकि प्रवक्ता जोशीका अनुसार मन्त्री परिषदको बैठकले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको २०७७र७८ को वार्षिक प्रतिबेदन प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ। प्राविधिक शिक्षाविद् डाक्टर खेमराज जोशीको संयोजकत्वमा नौ सदस्यीय कार्यदललाई बैठकबाट पूर्णाता दिइएको हो। मन्त्री परिषदको बैठकले सुदूरपश्चिमको डोटी, डडेल्धुरा र कञ्चनपुरमा प्रदेश लेखा इकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा ५/५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। प्रदेश सरकारले प्रदेश सभा अधिवेशन वर्षे अधिवेशन अन्त्य गर्न पनि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।