कञ्चनपुरमा मेयरका स्वकीय सचिवले बुझे सुत्केरी भत्ता
धनगढी, १५ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले सुत्केरी भत्ता बुझेका छन्।
महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ऐरीले पाँच हजार रुपैयाँ सुत्केरी भत्ताबापत बुझेका हुन्। ‘करारको कर्मचारीलाई करार सम्झौता तोकिएको भन्दा बढी सुविधा भुक्तानी गर्न नमिल्ने,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘पालिकाले करारमा कार्यरत गणेशसिंह ऐरीलाई सुत्केरी भत्ताबापत रु। ५००० भुक्तानी गरेको पाइयो। निजलाई भुक्तानी भएको सुत्केरी भत्ता असुल गर्नुपर्छ।’
यता ऐरीले भने एनअनुसार नै सुत्केरी भत्ता बुझेको बताए। ‘मेयर सापको स्वकीयसँगै कम्प्युटर अपरेटरको थप जिम्मेवारी पनि मलाई दिइएको छ,’उनले भने, ‘त्यसले कर्मचारीले पाउने सुविधा मैले पनि बुझेको थिए। महालेखाले असुल उपर गर्न भनेपछि फिर्ता गर्छु।’
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव तथा सल्लाहकार राख्न पाउने व्यवस्था छैन। तर कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले भने ऐनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ ९८० मा तोकिएभन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न पाउने व्यवस्था छैन। मेयर हमालले भने सुविधा सम्वन्धि ऐन र स्थानीय सरकार सञ्चालन ऐनविपरीत गएर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर तलबसमेत राज्य कोषबाट वितरण गरेका हुन्।