सोलुखुम्बुमा मौसमी रुघाखोकीका बिरामी बढ्दो, सिटामोल पाउनै सकस
सोलुखुम्बु, १५ असोज । सोलुखुम्बुमा केहि दिनयता मौसमी रुघाखोकीको बिरामी बढ्न थालेसँगै सिटामोलको माग उच्च भएकोे छ । जिल्लाको विभिन्न स्थानमा रुघाखोकी तथा भाईरल ज्वरोका बिरामी बढेकाले पालिकाहरुबाट सिटोमोलको माग बढ्न थालेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गाउँघरमा बालबालिका देखि वृद्धवृद्धा समेत ज्वरो तथा रुघाखोकीबाट ग्रसित बनेको पालिकाहरुले जनाएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ज्वरो तथा रुघाखोकीका विरामी बढेसँगै केहि विद्यालयहरुले पठनपाठन नै बन्द गरेको गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए ।
गाउँ गाउँमा विद्यालयहरु सञ्चालन भइसकेकाले रुघाखोकी फैलन सक्ने सम्भावना बढेको सर्वसाधरणको भनाइ छ । सोलुदुधकुण्ड नगरपालिकाको सदरमुकाम सल्लेरीसहित गार्मा, बेनी, तामाखानी, लगायतका क्षेत्रमा पनि बालबालिकाहरु रुघाखोकी तथा ज्वरोका कारण विरामी परेको बताइएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्ष्यणका बिरामी बढेसँगै एन्टिजेन परीक्षणको दायरालाई थप फराकिलो पारिएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन राम कुमार विश्वकर्माले जानकारी दिए ।