स्वास्थ्य कार्यालयले थाल्यो ओटिसी सेवा बढाउने तयारी 



Download our app to get more features

महेन्द्रनगर, १३ असोज । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्वास्थ्य संस्थामा कुपोषण्का लागि बहिरङ्ग ओटिसी सेवा बढाउने भएको छ । कार्यालयले स्थानीय तहसँग छलफल गरी बहिरङ्ग सेवा बढाउने कार्य अघि बढाइएको छ । 

कुपोषित बालबालिकाका लागि हाल कञ्चपुरका २४ स्वास्थ्य संस्थामा ओटिसी सेवा सञ्चालनमा छ । जनसंख्या वृद्धिसँगै कुपोषित बालबालिकाको संख्या पनि बढेपछि स्वास्थ्य कार्यालय सेवा बढाउने तयारीमा लागेको हो । 

‘यो कुपोषित बालबालिकाका लागि उपचार गर्ने ठाउँ जस्तै हो, कुपोषण कार्यक्रम सञ्चालन भएसँगै ओटिसी सेवा पनि सञ्चालनमा आएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले भने, ‘जनसंख्या बढेसँगै कुपोषित बालबालिकाको संख्या पनि बढेकाले सेवा बढाउने गरी छलफल अघि बढाएका छौं ।’

स्वास्थ्य कार्यालयले सबैभन्दा बढी जनसंख्या भएको भीमदत्त नगरपालिकासँग ओटिसी सेवा विस्तारका लागि छलफल गरेको छ । भीमदत्तमा जिमुवा स्वास्थ्य चौकी र वसन्तपुर सहरी स्वास्थ्य केन्द्रमा ओटिसी सेवा सञ्चालनमा छ । 

‘भीमदत्त क्षेत्र र जनसंख्या दुबै हिसाबले ठूलो छ, यसमा जिमुवामा मात्रै ओटिसी थियो, पछि वसन्तपुरमा पनि थपिएको हो’ उनले भने, ‘यति ठूलो नगरका लागि यी दुईले मात्रै हुँदैन, त्यसैले दुई तीन ठाउँमा थप्ने गरी छलफल अघि बढाएका छौं, त्यसमा नगरपालिका सकारात्मक छ ।’ भीमदत्तका तीन स्वास्थ्य संस्थामा छिट्टै ओटिसी सेवा सञ्चालनमा आउने स्वास्थ्य प्रमुख सुनारले बताए ।

ओटिसी सेवा सञ्चालन गरिएका स्वास्थ्य संस्थाले कुपोषित बालबालिका खोज्ने र उनीहरुको उपचार गर्दै आएका छन् । त्यहाँ बालबालिकालाई तयार गरिएको पोषणयुक्त खाना आरयुटिएफ खुवाउने गरिन्छ । यो सेवा डेढ दशकदेखि सञ्चालनमा आएको हो । 

स्वास्थ्य कार्यालयले नयाँ आर्थिक वर्षको सुरुवातसँगै जिल्लाका सबै स्थानीय तहमा कुपोषित बालबालिका खोजी गरेको थियो । साउन र भदौमा गरिएको खोजी अभियानमा ६ सय ३ बालबालिका कुपोषित भेटिएका छन् । गत वर्ष जिल्लाभर ३ सय ८७ जना मात्रै भेटिएका थिए । 

स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिलदेव जोशीले दुई महिनामा देखिएको कुपोषित बालबालिकाको संख्याले डरलाग्दो अवस्था बाहिर आएको बताए । ‘दुई महिनामा यति बालबालिका कुपोषित देखिनु राम्रो संकेत होइन, यसले खतराको संकेत देखिएको छ’ उनले भने, ‘अब थप खोजी गरी बालबालिकाको उपचारका लागि कार्यक्रम बनाउनु पर्छ ।’

कोरोना संक्रमण महामारीका कारण बालबालिकाकामा कुपोषणको समस्या बढेको हुन सक्ने उनले बताए । कुपोषित देखिएका बालबालिकामध्ये अधिकांश मध्यम खालका छन् । महाकाली प्रादेशिक अस्पतालको पोषण पुनस्र्थापन गृहका प्रमुख इन्द्रा भट्टले सामाजिकरुपमा अपमानित हुने डरले आमा बुवाले बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन छाड्दा पनि कुपोषणको समस्या देखिएको बताइन् । ‘यो पोषित बढी खाएर पनि भएको छ, पोषित खान नपाएर पनि हुन्छ’ उनले भनिन्, ‘समाजमा हेपिने डरले केहीले बच्चालाई जाउलो खुवाउँदैनन्, त्यसैले पनि समस्या छ ।’

बालबालिकालाई समयमा खाना नदिने, स्तनपान नगराउने, मासु, फलफूल धेरै खुवाउने, जाउलो नखुवाउने लगायतका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको उनले बताइन् । ‘एकै पटक धेरै खुवाउन पर्दैन, पोषित मिसाएर समय मिलाएर खुवाउन सके राम्रो हुन्छ,’ उनले भनिन् । महाकाली अस्पतालमा पुनस्र्थापन गृहले डेढ दशकदेखि कुपोषित बालबालिकाको उपचार गर्दै आएको छ । हालसम्म एक हजार ९ सय ८७ बालबालिका गृहमा बसेर घर फर्किएका छन् । हाल १० जना बालबालिका गृहमा छन् ।

Last modified on 2021-09-29 11:18:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts