सुदूरपश्चिमका अस्पतालमै एक वर्षमा ९ सुत्केरीले गुमाए ज्यान, भएन दोषीलाई कारबाही



Download our app to get more features

धनगढी, १२ असोज । यहि असोज १० गते आइतबार धनगढीको नवजीवन अस्पतालमा सुत्केरी कल्पना सिंह मल्लको मृत्यु भयो। डोटीको शिखर नगरपालिकाका वडा नम्बर ६ घर भएकी २६ वर्षीया मल्लको अस्पतालमै मृत्यु भएको हो। गर्भवती भएदेखि मल्ल मातृशिशु कार्यक्रम लागु भएको नवजीवन अस्पतालका डाक्टरको परामर्शमा बसेकी थिइन्।

चिकित्सकको लापरबाहीका कारण उनको ज्यान गएको मृतक कल्पनाका देवर दिपेन्द्र मल्लले बताएका छन्। ‘घटनाको छानविन हुनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘ताकी आगामी दिनमा पनि यस्तो घटना नहोस्, यस्ता घटनालाई हलुका रुपमा लिनु हुन्न।’ २०७५ चैत ८ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी २२ वर्षीया सुत्केरी रेखा थापाको मृत्यु भयो।

चैत ४ गते सेती अस्पताल भर्ना भएकी थापाको सामान्य रुपमा सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनको पेट सुन्निएको र उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिनसम्म बेवास्ता गरेको आरोप पीडित परिवारको थियो। लापरबाही गर्ने डाक्टरलाई कारवाहीको माग गर्दै थापाका आफन्त आन्दोलित समेत भएका थिए।

त्यसपछि घटनाको छानबिन नगर्दै क्षतिपूर्ति दिने सहमति भयो। शिशुको पालनपोषण र औषधि उपचार गर्ने सहमति भएपनि अहिलेसम्म कार्यान्वयन नभएको मृतक रेखाका ससुरा मोती थापाले गुनासो गरे। ‘हाम्रो माग लापरबाही गर्नेलाई कारबाही हुनुपर्छ भन्ने थियो,’ उनले भने, ‘छानबिन गरेर दोषीलाई कारबाही नहुँदा त्यसपछि पनि धेरैले ज्यान गुमाए।’ मल्ल र थापा त प्रतिनिधि पात्र मात्रै हुन्। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै ९ जना सुत्केरीको ज्यान गएको छ।

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण सुत्केरीले अकालैमै ज्यान गुमाउनु पर्ने बाध्यता छ। तर ९ सुत्केरीको मृत्यु हुँदा पनि कुनै घटनाको छानबिन हुन सकेको छैन। प्रायः धेरै घटनाको उजुरी नै नपर्ने गरेको नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम शाखाका अध्यक्ष डा. प्रदीप मिश्रले बताए। ‘उजुरी गर्ने निकाय नेपाल मेडिकल काउन्सिल र स्वाथ्य मन्त्रालय पनि हो।

उजुरी परेपछि छानबिन समिति गठन हुन्छ,’ डा. मिश्रले भने, ‘त्यो समितिले सम्बन्धित ठाउँमा आएर अध्ययन गर्छ। कसको के गल्ती छ भन्ने पत्ता लगाएर प्रतिवेदन तयार हुन्छ। सोहीको आधारमा धेरै ठाउँमा कारबाही पनि भएको छ।’ तर क्षतिपूर्तिमा सहमति गर्ने परिपाटीले यस्ता घटना बढ्दै गएका छन्। जसका कारण दोषीलाई कारबाही गरेको उदाहरण एउटा पनि छैन।

घटनाको छानबिनका लागि मेडिकल काउन्सिलसम्म पुग्नपर्ने हुन्छ। तर सुदूरपश्चिमा ज्यान गुमाएका सुत्केरीका कोही आफन्त पनि मेडिकल काउन्सिलसम्म पुगेको उदाहरण छैन। पीडितलाई क्षतिपूर्ति उपलब्ध गराएर लापरबाही लुकाउने परिपाटी नै बनेको छ। पीडितले उजुरी गर्ने निकाय बढी भएर दोषी पत्ता लगाउन र कारबाही गर्न समस्या भएको नेपाल मेडिकल काउन्सिलका प्रमुख डा.कृष्ण अधिकारीले बताए।

‘काउन्सिल हेर्दा प्रक्रियागत रुपमा हेर्छ। कागज पुकेको छ कि छैन। समयमा उपस्थित भएको छ कि छैन भनेर हेर्ने हुँदा हाम्रो नजिता फरक हुनसक्छ कहिलेकाही,’ डा. अधिकारीले भने, ‘आम रुपमा के बुझिन्छ भने काउन्सिलले हेर्दै हेरेन। डाक्टरले डाक्टरलाई कारबाही गर्छ र ? भन्ने बुझाइ हुन्छ। त्यही भएर मान्छे उत्तेजित हुन्छन्। तोफोडमा उत्रिन्छन्। त्यसकारण हामीले पनि उजुरी गर्ने ठाउँ एकै हुनुपर्छ भनेर प्रस्ताव राखेको छाै‌।’

Last modified on 2021-09-29 07:00:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts