धनगढीमा सुत्केरी मृत्यु प्रकरण : अझै उठेन शव,अस्पताल सुरक्षा घेरामा



Download our app to get more features

धनगढी, १२ असोज । आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव अझैसम्म उठ्न सकेको छैन। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो । 

सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्याइएको थियो । दिनभर सुत्केरी हुन संघर्ष गरेकी उनको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो । राति भ्याकुम प्रयोग गरेर उनको गर्भमा रहेको शिशु निकालिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो । 

तर आफन्तले भने आफूहरुलाई जानकारी नदिएर भ्याकुम प्रयोग गरेको बताइरहेका छन् । शिशुको निकालिएपछि मात्रै भ्याकुम प्रयोगबारे जानकारी पाएको मृतकका ससुरा नाता पर्ने शेरबहादुर मल्लले बताए ।  ‘हामीलाई त सोमबार बिहान सिधै रक्तस्राव भएको भन्दै ‘ए नेगिटिभ’ ग्रुपको रगत ल्याउन भनेर भनियो । बिहानसम्म हामीले ७ पिन्ट रगत जम्मा गरिसकेका थियौँ तर अस्पतालले बुहारीलाई बचाउन सकेन भनेर भन्यो’ उनले भने । 

त्यसपछि मंगलबार बिहानसम्म अस्पतालमा तनाव चलिरहेको छ। आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै मृतकको शव नउठाउने बताइरहेका छन् । त्यसमाथि नवजीवन अस्पतालले दिउँसो ३ बजे ‘सक्दो प्रयास गर्दा पनि सुत्केरी बचाउन नसकिएको’ भन्दै विज्ञप्ति जारी गरेपछि आफन्त झनै आक्रोशित भएका छन् ।  

गर्भवती भएदेखि नै डा.जयराम केसीको परामर्शमा रहँदै आएको भए पनि अन्तिम समयमा आएर उपचारमा लापरबाही गरेको मृतकका देवर दीपेन्द्र मल्लले आरोप लगाएका छन् । बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले जबरजस्ती भ्याकुम प्रयोग गरेको उनको आरोप छ । 

आफन्तले दोषीलाई कारबाही नगरुञ्जेल शव नउठाउने अडान लिँदै आएपछि अहिले अस्पताललाई सुरक्षा घेरामा राखिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्पताललाई सुरक्षा दिइरहेको छ । शिशुलाई अस्पतालकै एनआइसियूमा राखिएको छ । 

यता अस्पतालका सञ्चालक योगेन्द्र ओझाले मृतकका आफन्तले उठाएको मागमा आफूहरु सहमत भएपनि शव नउठाइएको बताएका छन् । ‘शिशुको भरणपोषण, मृतकको नाममा प्रतिष्ठान स्थापना लगायतका मागमा हामी सहमत भइसकेका छौं । तर के कति कारणले शव नउठाइएको हो जानकारी छैन, अहिले सहमतिका लागि जिल्ला प्रशासनमा छलफल भइरहेको छ,’ उनले भने । दोषीलाई कारवाहीको बुँदामा भने अस्पताल प्रशासनले मुद्दामा जान कल्पनाका आफन्तलाई आग्रह गरेको छ ।

Last modified on 2021-09-28 16:47:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts