के हो गर्भवती महिलामा मुटु दुख्ने समस्या र कसरी कम गर्ने ? यसो भन्छन् डा.सापकोटा
गर्भवति महिलाहरूमा प्रायः देखिने समस्या मध्येको एक हो, मुटु दुख्नु अर्थात् हर्ट बर्न । यो समस्या विशेषगरी गर्भ बसेको पहिलो तीन महिनाभित्र नै अधिकांश महिलाहरुमा देखिन सक्छ । आमाशयमा रहेको अम्लिय पदार्थ माथि आउने हुँदा यो समस्या देखिने गर्छ । पेटको माथिल्लो र बीच भागमा दुख्ने र पोल्ने, अमिलो पानी मुख या घाँटीसम्म आउने, करङ्गको अगाडी र पछाडी बीच भागमा दुख्ने यसका लक्षणहरु हुन् ।
गर्भावस्थामा निस्कने हार्मोन जस्तो की प्रोजेस्टेरोनले आन्द्राको मांसपेशीलाई आराम गराउने हुँदा यो समस्या हुने गर्दछ । पछिल्लो समयमा भने पाठेघर र बच्चाले धेरै ठाउँ लिने हुँदा आन्द्रा र आमाशयमा बढी प्रेसर पर्ने हुँदा पनि यस्तो समस्या देखिने क्रम बढेको छ ।
कस्ता खानाले बढ्छ मुटु दुख्ने समस्या ?
- अम्लिय खाना, जस्तोः साँधेको परिकार (अचार, तरकारी, मासु आदी)
- मसलादार खाना
- भिनेगर
- तारेको खाना
- बोसो मिसिएको खाना
- कफी
- चकलेट
- कार्बोनेटेड पेय पदार्थ जस्तैः कोकोकोला
- चुरोट
- मद्यपान
कसरी कम गर्ने ?
- प्रशस्त मात्रामा हरियो सागसब्जी खाने
- माछामासु खाँदा प्रशस्त मात्रामा हरियो सलाद खाने
- खानासँगै पानी नपिउने
- (माथि भनिएका अम्लिय खाना, मसालादार खाना, तारेको, बोसो मिसिएको खाना, कफि, चकलेट, कार्बोनेटेड पेय पदार्थ, मद्यपान, धुम्रपान नगर्ने)
- पटपकपटक थोरै खाना खाने
- खाना खाइसकेपछि कम्तिमा २ घन्टा नसुत्ने
- सुत्दा सिरानी राखेर सुत्ने (कम्तिमा ६ देखि ९ इन्चसम्म टाउको उठ्ने गरी)
कुन अवस्थामा डक्टरलाई सम्पर्क गर्ने ?
- यदि मुटु दुख्ने अर्थात् हर्ट बर्न कै कारणले तपाईंको निद्रामा गडबड भएको वा कम सुत्नु हुन्छ भने
- मानसिक र शारिरीक थकावट भयो भने
- सामान्य घरेलु उपचार या खानपिनको सुधारले कम भएन भने
- चिकित्सकले दिएको औषधिले पनि कम नभएको अवस्थामा वा मुटु दुख्ने क्रम बढेमा
- पछिल्लो तेस्रो महिनामा रक्तचाप बढ्ने र खुट्टा सुन्निनुको साथै मुटु दुख्ने भएका तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ
तर, हरेक गर्भवति महिलाले कहिले घरायसी उपचार गर्ने वा कलिहे औषधि उपचार गर्ने भनेर चिकित्सकको परामर्शमा नै गर्नु उत्तम हुन्छ ।
(लेखक डा. सापकोटा चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्)