प्रयास गर्दा गर्दै पनि सुत्केरी बचाउन नसकिएको नवजीवन अस्पतालको प्रष्टिकरण
धनगढी, १० असोज । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालले सक्दो प्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको जनाएको छ। चिकित्सहरुले हरसम्भव प्रयास गरेर उपचार गर्दा पनि महिलालाई बचाउन असफल भएको अस्पतालले एक विज्ञप्तिमार्फत प्रष्ट पारेको हो।
आइतबार बिहान डोटी शिखर—६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। मृत्युपछि नवजीवन अस्पतालमा तनाव भएको थियो। तनाव भएपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई शनिबार बिहान १० बजे पेट दुखेर अस्पताल भर्नाको भएको ३९ हप्ताकी गर्भवती मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको उल्लेख गरेको छ।
बच्चाको धड्कन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर ११ः ४४ मा डेलिभरी गराइएको अस्पतालले जनाएको छ। त्यसक्रममा पाठेघरको मुख फराकिलो बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको बताईएको छ। इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउनका प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाका सिलाउने काम गरिएको र त्यसक्रममा अत्याधिक रक्तस्राव भएको थियो। रक्तस्राव नरोकिएपछि अन्य विभिन्न प्रयास गर्दा पनि बिरामीलाई कार्डियाक एरेष्ट भएर मृत्यु भएको र उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। गर्भवती भएदेखि नै मल्ल नियमित रुपमा नवजीवन अस्पतालमा गर्भजाँच गराउँदैं आएकी थिइन्।