नेपालगञ्जको हिरमिनियामा निःशुल्क कान शिविर
नेपालगञ्ज, १० असोज । नेपालगञ्जको डुडुवा गाउँपालिका स्थ्ति हिरमिनियामा निःशुल्क कान शिविर सम्पन्न भएको छ । शनिबार आयोजित उक्त शिविर एसओएस युवालय नेपालगन्जको मुख्य संयोजनमा भएको हो ।
एसओएस युवालय नेपालगन्जमा आवद्ध रहेका एसओएस युवा क्लब नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल, तथा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको संयुक्त आयोजना र बी।एन। सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा डुडुवा गाउँपालिका – ६ हिरमिनियाको विभिन्न ठाउँका महिला पुरुष गरी १ सय ५३ जनाले सेवा लिएका छन् ।
कानको स्वास्थ्य परीक्षणमा ८० पुरुष तथा ७३ महिलाको ३४ जना कान पाक्ने रोग, ३९ जनामा काने गुजी भरिएको, ११ जना कान कम सुन्ने समस्या रहेको पत्ता लागेको थियो । ३४ जना कान समस्या भएको मध्ये निम्नआय भएका १३ जनालाई सिद्धार्थ अस्पताल गणेशमान चोकस्थित बि.न. सामुदायिक कान उपचार सेवाले सहुलियत दरमा शल्यक्रिया गर्ने संस्थाका प्रबन्ध संचालक रामबहादुर बुढाले जानकारी गराए ।
शिविरमा कानका विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । उक्त शिविरमा कान चिकित्सक राम बहादुर बोहरा, सिएमए यमुना बुढाथोकी, स्टाफ नर्स स्मारिका श्रेष्ठ लगायतले शिविरमा सहयोग गरेको एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम विश्वासले बताए ।