कामदारको परिवारलाई ३५ सयको स्वास्थ्य बीमा अनिवार्य



Download our app to get more features

काठमाडौं, १० असोज । वैदेशिक रोजगारीमा जाने कामदारका लागि थप तीन हजार पाँच सय रूपैयाँको दायित्व थपिने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवालाई स्वास्थ्य बीमाको दायरामा ल्याउने भएपछि कामदारमाथि उक्त दायित्व थपिने भएको हो ।

बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने कार्यविधि २०७८ लागू गर्दै त्यस्ता परिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने गृहकार्य गरिरहेको बताएको छ ।

बोर्डले आगामी मंसिरदेखि कार्यविधि लागू गर्ने तयारी गरिरहेको बोर्डका सूचना अधिकारी सोभित रिजालले मध्यान्ह दैनिकलाई जानकारी दिए । हाल वैदेशिक रोजगारीमा जाने कामदारहरूले उमेर अनुसार १८ देखि ६४ वर्षको म्यादी बीमा गराउँदै आएका छन् । 

स्वास्थ्य बीमा ऐन अनुसार नै बोर्डले कार्यविधि तयार पारेको भन्दै उनले वैदेशिक रोजगारमा जाने परिवारलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने तयारी भएको बताए । त्यसका लागि रोजगारीमा जाने कामदारले तीन हजार पाँच सय रूपैयाँ प्रिमियम तिरेर परिवारको स्वास्थ्य बीमा गर्नुपर्नेछ । हाल काठमाडौं र ललितपुर बाहेक सबै जिल्लामा परिवार स्वास्थ्य बीमा लागू भएको छ । ललितपुर र काठमाडौं जिल्लामा पनि स्वास्थ्य बीमा शुरू गर्ने बोर्डले जनाएको छ ।

म्यादी बीमा गरी वैदेशिक रोजगारमा गएका कामदारको बीमा अवधिभित्र बीमितको मृत्यु भएमा  दश लाख, दुर्घटनाको कारणबाट घटना भएको १८० दिनभित्र कुनै एउटा पूर्ण र स्थायी अंगभंग भएमा दुर्घटनाबाट लागेको चोटपटको औषधोपचार खर्च बापत बीमाकंको १०  प्रतिशत नबढ्ने गरी वास्तविक औषधोपचार खर्च, बीमितको मृत्यु विदेशमा भएको अवस्थामा स्वदेशमा शव परिवहन गरिँदा लागेको ढुवानी खर्च बढीमा एक लाख, किरिया खर्च लगायतका सुविधा दिने गरिएको छ ।

स्वास्थ्य बीमा लागू भएपछि परिवारका अन्य सदस्यहरुको एक लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार खर्चका लागि वैदेशिक रोजगारीमा जाने कामदारको भर पर्नु नपर्ने रिजालले बताए । 

हाल वैदेशिक रोजगार विभागसँग स्वास्थ बीमा कार्यक्रम कार्यान्वयन बारे छलफल भइरहेको भन्दै रिजालले स्वास्थ्य बीमा अनिवार्य हुने जानकारी दिए ।

Last modified on 2021-09-27 07:18:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts