नेपालमा सक्रिय संक्रमितको संख्या २० हजारभन्दा कम, २४ घन्टामा थप ६ जनाको मृत्यु
काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ लाख ८१ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १० हजार ५ सय ७९ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ५० आरटी पिसिआर परीक्षण गर्दा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ७ लाख ९० हजार ६ सय ६२ र एन्टीजेन विधिबाट ९० हजार ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ लाख ८१ हजार १ सय ११ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १ हजार ३ सय ७१ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर २ लाख १६ हजार ७ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर १९ हजार ७ सय सक्रिय संक्रमित रहेका छन् ।