निःशुल्क आँखा शिविरमा १ सय ४६ को परीक्षण
नेपालगन्ज, ९ असोज । बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नं. ६ फुलटेक्रास्थित रहेके फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बाँकेको डुडुवा गाउँपालिकाको स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरिएको छ ।
यस्तै उनीहरुका लागि निःशुल्क औषधि वितरण गरिएको छ भने ३६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा पठाइएको छ ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्धक कौशलकुमार वर्माका अनुसार पहिलो चरणको बृहत निःशुल्क आँखा शिविर कारागार कार्यालय नेपालगन्जबाट शुरू भई बालसुधार गृह आसमान र भदौ २३ गतेदेखि असोज ७ गते सम्म नेपालगन्ज उप–महानगरपालिकाको २३ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए ।
उक्त निःशुल्क आँखा शिविरमा ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको उनले बताए । यस्तै ७ सय २६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्नका लागी फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा पठाइएको उनको भनाइ छ ।
शिविरबाट पठाइएकोमध्ये असोज ६ गते सम्म ३ सय ३० जनाको शल्यक्रिया भइ सकेको छ भने ३ सय ९६ जनाको शल्यक्रिया गर्न बाँकी रहेको जानकारी गराउँदै प्रबन्धक वर्माले शल्यक्रियाका लागी बिरामीहरूको आउने क्रम जारी रहेको बताए । अर्को चरणको बृहत निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेज कोहली रुइत फाउण्डेसनको संयुक्त सहकार्यमा यही असोज ११ गते देखि १४ गते सम्म बर्दियाको बारबर्दिया नगरपालिकाको सबै वडाहरूलाई समेट्ने गरी ८ स्थानमा सञ्चालन गरिने प्रबन्धक वर्माले बताए ।