सेती अस्पतालको फार्मेसीमा बिरामीलाई औषधि खरिद गर्नै सास्ती



Download our app to get more features

कैलाली, ८ असोज । सेती प्रादेशिक अस्पतालको फार्मेसीमा औषधि खरिद गर्न समस्या हुन थालेको छ। बिरामीले फार्मेसीमा निकै लामो समय पर्खनुपर्ने तथा केही औषधि समेत फार्मेसीमा नपाएर बाहिर खरिद गर्नुपर्ने बाध्यता रहेको छ।

२०७३ असार ३ गतेदेखि सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको फार्मेसीबाट अहिले १ हजार ८० प्रकारका औषधि विक्री भइरहेकोे छ। तर बिरामीहरुले भने चिकित्सकले सिफारिस गरेको सबै औषधि नपाएको बताएका छन्। अस्पतालको फार्मेसीमा सस्तोमा औषधि पाइने भएपनि चिकित्सकले लेखेको सबै औषधि नपाइएको गुनासो बिरामीहरुले गरेका हुन्। 

डोटीको शिखर नगरपालिका वडा नम्बर ७ बाट सेती प्रादेशिक अस्पतालमा उपचार गराउन आएका डबल बलायरले पाँच औषधि लेखिएकोमा फार्मेसीमा दुई औषधिमात्रै पाएको बताए। ‘डाक्टरले पाँच प्रकारका औषधि लेखेका छन् तर फार्मेसीमा दुईटा मात्रै मिल्यो,’ उनले भने, ‘सबै औषधि फार्मेसीमा नै पाएको भए सस्तो पथ्र्यो, सजिलो पनि हुन्थ्यो।’ 

अस्पतालको फार्मेसीमा औषधि नपाउने समस्या मात्र नभई खरिदका लागि पनि कम्तीमा आधा घण्टा पर्खनुपर्ने बिरामीले गुनासो गरेका छन्। फार्मेसीमा अधिकृतसहित ८ जना जनशक्ति रहेको भएपनि बिरामीले भने काउण्टर बाहिर निकै लामो पालो पर्खिएर औषधि पाउने गरेका छन्। त्यहाँ नपाएर अन्य मेडिकलबाट महंगोमा औषधि किन्नु परेको गुनासो गरिएको छ। 

तर फार्मेसी अधिकृत लक्ष्मी चौधरीले भने सबैजसो औषधि फर्मेसीमा रहेको दाबी गर्छन्। ‘हामी कहाँ लगभग सबै औषधि छ। कहिलेकाहीँ औषधि सक्किएर स्टोरबाट ल्याउँदा बिरामीले औषधि नपाएका हुन सक्छन्,’ उनले भनिन्, ‘कोभिडको कारणले केहीे इन्जेक्सन सकिएकोले समस्या भएको हो। ८० प्रतिशत औषधि फार्मेसीमा उपलब्ध छ।’

सेतीको फार्मेसीमा गत आर्थिक वर्षमा ६ करोड ३८ लाख ९१ हजार ७ सय ९८ रुपैयाँको औषधि बिक्री भएको छ। फार्मेसीबाट सम्पूर्ण खर्च कटाएर गत वर्ष १ करोड ३ लाख ४४ हजार ८ सय ९ रुपैयाँ नाफा भएको अस्पतालले जनाएको छ। तर अस्पतालकै चिकित्सकले लेखेको औषधि बाहिर किन खरिद गर्नु परेको हो रु भन्ने प्रश्नको जवाफमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बिरामीको चाप तथा कोभिडको कारणले समस्या भएको बताए।

‘फार्मेसीमा औषधि सकिएको बेला स्टोरबाट ल्याउनु पर्दा केही समस्या भएको हो,’ उनले भने ‘,फार्मेसीमा यथेष्ट मात्रामा औषधि छ। बिरामी बढी भएको समयमा मात्रै केही समस्या भएको हो।’ उनले थपे, ‘यो कुरामा पनि सुधार गर्ने प्रयास गरिने छ।’ 

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमकै रेफरल अस्पताल हो। हरेक दिन अस्पतालमा १ हजार बढी बिरामी आउने गरेका छन्। अस्पताल फार्मेसी सञ्चालनमा आएपछि सस्तोमा औषधि पाउने अवस्था निर्माण भएको छ। तर पनि फार्मेसीको सेवा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याइएको छ।

Last modified on 2021-09-25 11:22:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts