स्क्रब टाइफसका बिरामी फेला पर्ने क्रम बढ्दै

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए परीक्षण गराउन आग्रह



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो केही समयदेखि कोरोना संक्रमणको दर स्थिर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक कोरोना परीक्षण गर्दा देखिने संक्रमणदर स्थिर रहेको छ । दैनिक औसमा १ हजारदेखि १५ सयसम्म नयाँ संक्रमित फेला परेपनि परीक्षणका लागि आउने सबैमा कोरोना पुष्टि नहुँदा संक्रमणदर स्थिर रहेको सरकारको भनाइ छ ।

तर, कोरोना संक्रमित थपिने दरस्थिर भएपनि विभिन्न अस्पतालमा पछिल्लो समय स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन् भने कोरोनाको नयाँ भेरिएन्ट फेला पर्ने चिन्ता पनि रहेको छ । 

चितवनमा मात्रै पछिल्लो २ महिनामा ९४ जनामा स्क्रब टाइफस फेला परिसकेको छ भने धुलिखेल अस्पतालमा स्क्रब टाइफस फेला पर्ने क्रम जारी छ । अस्पतालका माइक्रो बायोलोजिस्ट सुरेन्द्र मधुपका अनुसार दैनिक सय जना बिरामी लक्षणसहित जाँचका लागि आउँदा १ देखि २ वा ३ जनामा स्क्रब टाइफस पुष्टि हुने गरेको छ । जुन पक्कैपनि राम्रो होइन । हालसम्म १० जनाको स्क्रब टाइफसकै कारण मृत्युसमेत भइसकेको छ । 

यस्तै देशको एकमात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल अस्पतालमा पनि दैनिक १/२ जनामा स्क्रब टाइफस पुष्टि हुने गरेको छ । 

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आउने बिरामीमा पछिल्लो समय स्क्रब टाइफस फेला पर्ने गरेको अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा.शेर बहादुर पुनको भनाइ छ । 

ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने, जिउहात दुख्ने जस्ता लक्षण लिएर आउने बिरामी पछिल्लो समय अस्पताल आउँदा उनीहरुमध्ये केहीमा स्क्रब टाइफस पुष्टि हुने गरेको उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि दैनिक ३/४ जनामा स्क्रब टाइफस पुष्टि हुने गरेको प्रयोगशालाकी प्रमुख डा.रुना झा बताउँछिन् । उनका अनुसार पछिल्लो समय प्रयोगशालामा परीक्षण गर्दा ३÷४ जनामा स्क्रब टाइफस देखिएको भएपनि ठूलो संख्यामा हालसम्म केस फेला परेको छैन । 

डा.पुनका अनुसार भदौ, असोज र कात्तिक विशेषगरी स्क्रब टाइफस देखिने मौसम हो । त्यसकारण यो समय विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । चाडवाड नजिकिँदै गर्दा सरसफाइ गर्ने क्रममा किर्नाले टोकेपछि यो मौसममा स्क्रब टाइफसका बिरामी बढी फेला पर्ने गर्छन् । त्यसकारण खेतवारीमा काम गर्नेले विशेष सावधानी अपनाउनुपर्छ । 

उनी भन्छन्, ‘अहिलेको समय भनेको कोरोनाको हो । हामी सबै यतिबेला कोरोना महामारीको क्रममा रहेको हुँदा ज्वरो आउनेहरुपनि घरमै परीक्षण नगराई बसिदिँदा मृत्यु हुने जोखिम बढ्न सक्छ । त्यसकारण ज्वरो आयो वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो भने कोरोना नै हो भनेर बस्नुभन्दा पनि कोरोना र स्क्रब टाइफस दुबैको परीक्षण गराएर उपचारमा जानुपर्छ ।’

समयमै रोगको पहिचान भयो भने उपचार पनि सम्भव हुने भएकाले सतर्क र सचेत रहन उनी आग्रह गर्छन् । 

डा. पुनले रोग लाग्नुभन्दा पनि लाग्नै नदिनमा बढी जोड दिन पनि सुझाव दिन्छन् । 

खेतवारीमा काम गर्दा पञ्जा, खुट्टा ढाक्ने, जिउहात पुरै छोपिने खालको लुगा लगाउने, घाँसमा वा भुइँमा बस्दा कुनै ओछ्याउने कुरा राखेर बस्ने, मुसा आउने वातावरण बन्न नदिने, घरआँगन सँधै सफा राख्न पनि उनको सुझाव छ । 

यता, सरकारले भने स्क्रब टाइफसको मौसम भएको र अस्पताल तथा प्रयोगशालामा पनि स्क्रब टाइफस पुष्टि हुने क्रम देखिएकाले सावधानी अपनाउन आग्रह गरेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २ सयभन्दा बढीमा स्क्रब टाइफस देखिएको छ । गत वर्षपनि १ सय ६ जनामा स्क्रब टाइफस फेला परेको थियो । तर, सरकारको तथ्याङ्कमा मृत्यु हुने तथ्याङ्क भने उल्लेख गरिएको छैन । 

स्क्रब टाइफसको केसहरु फेला पर्न थालेपछि मन्त्रालयले सबै अस्पताललाई सूचना जारी गर्दै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनेको स्क्रब टाइफसको परीक्षण गर्न पनि भनेको छ । साथै जनचेतनाका लागि पनि सूचना जारी गरेको छ । 

Last modified on 2021-09-24 13:16:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts