गुल्मीको मालिका जिल्लाकै पहिलो पूर्ण प्रसुती गाउँपालिका घोषणा
गुल्मी, ८ असोज । गुल्मीको मालिका गाउँपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच गाउँपालिकाले जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीद्वारा पूर्ण संस्थागत गाउँपालिका घोषणा गराएको हो ।
२०७५ साल देखि गाउँपालिका भित्र रहेका सुत्केरीको घरमा हरियो झण्डा, हातहातमा अण्डा कार्यक्रम लागू गरिएको र स्वास्थ्यकर्मीलाइ तालिमका साथै थप प्रोत्साहनका कार्यक्रम गर्दै अहिले आएर पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले बताए ।
गर्भवती महिलाहरुलाई घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जानका लागी ८ वटै वडामा निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरिएको भुसालले जानकारी दिए ।
घरमै सुत्केरी गराउदा जोखिम रहने भएको र विगतमा कयौं महिलाको ज्यान समेत गएकोले अब त्यस्तो अवस्था अन्त्य भएको गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन् । सदरमुकाम तम्घासबाट ४० किमि दुरिमा रहेको मालिका गाउँपालिका उत्तर बागलुङको सिमानामा छ ।
बागलुङसँग जोडिएको साविक दर्लीङ गाविस हाल वडा नं २ को स्वास्थ्य चौकिमा गत दुई दशकदेखि अहेव रहँदै आएका ओम बहादुर भण्डारी मगरले भने, ‘दर्लिङका महिलालाई प्रस्तुती सेवा दिलाउनको लागि साढे २ घण्टा हिँडेर मलाई लिन आउथे । म त्या पुग्दा ५ घण्टा लाग्थ्यो । म पुग्दा ती महिलाको मृत्यु भइसकेको हुन्थ्यो ।’
भण्डारीले गला अवरुद्ध पार्दै स्मरण गर्दै भने, ‘एक चाटु दर्लिङ देखि आजसम्म स्टचरमा बोकेर महिलालाई हिँडायौँ । गाडिमा चडायौँ तर उनको तम्घास नपुर्याउँदै छल्दमा मृत्यु भयो । अब ती दिन र अहिले आकाश पाताको फरक भएको छ । मालिका गाउँपालिकालाई धन्यवाद दिन्छु ।’
वडा नं. ६ का अध्यक्ष एवं गाउँपालिका सामाजिक विकास समिति संयोजक शोभाकर गिरीले दुर्गम गापा भएकाले पालिकाबासिलाई सहज स्वास्थ्य सेवा भएको बताए ।
वडा नम्बर ७ का वडाध्यक्ष बेदप्रसाद पन्थीले जनचेतना अभावमा अझैँ पनि काम गर्दागर्दै सुत्केरी भइन्छ भन्ने मानसिकता चुनौतीको विषय रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जिरो होम डेलिभरी सेवा दिनका लागि ९ जना स्वास्थ्यकर्मी पालिकाले तलब खुवाउने गरी नियुक्ति गरेको र ७१ जना स्वास्थ्य स्वयंसेवीहरुलाई केन्द्र सरकारले दिने भत्ताको शतप्रतिशत भत्ता पालिकाले नै उपलब्ध गराउने गरेको बताए ।
जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली र इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जेरो होम डेलिभरी गाउँपालिका घोषणा गर्ने पहिलो बनेको मालिका गाउँपालिकालाई बधाइ दिए । पालिका प्रमुख रित बहादुर थापाले पालिकाबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने गरी पालिकाले काम गरिरहेको दावी गरे ।