अबको ३० वर्षमा नेपालमा अल्जाइमर्सका बिरामीको संख्या २ लाख पुग्ने सरकारको प्रक्षेपण

समयमै उपचार गर्न चिकित्सकको सुझाव



Download our app to get more features

काठमाडौं, ७ असोज । सरकारले अबको ३० वर्षमा अल्जाइमर्सका बिरामीको संख्या २ लाख पुग्ने प्रक्षेपण गरेको छ ।

हालसम्म यसरोगबाट कति प्रभावित छन् भन्ने यकिन तथ्याङ्क नभएपनि पछिल्लो समय नेपालसहित विश्वभर नै प्रभावित हुनेको संख्या बढ्दै गएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेलका अनुसार सन् २०१५ मा नेपालमा अल्माइमर्सका कारण झन्डै ७५ हजार प्रभावित रहेकोमा सन् २०५० सम्ममा यो संख्या २ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

विशेषगरी उमेर बढ्दै गर्दा देखिने यो रोग ६० वर्षभन्दा माथिका उमेर समूहमा बढी देखिने गरेको डा.कँडेलको भनाइ छ । 

उनले ८० वर्षभन्दा माथिका झन्डै ४० प्रतिशत नागरिक अल्जाइमर्सका कारण प्रभावित रहेको र तुलनात्मक रुपमा यो संख्या बढ्दै गएको बताए ।

युवा अवस्थाको बानी व्यवहार, मधुमेह, अनियन्त्रित उच्च रक्तचाप, सामाजीक रुपमा निस्क्रिय व्यक्ति, मानसिक रुपले निस्क्रिय रहेका व्यक्तिहरुमा अल्जाइमर्स हुने मुख्य जोखिमहरु भएकाले यी कुराहरुलाई ध्यानमा राख्नुपर्ने डा.कँडेलको सुझाव छ ।

अल्जाइमर्सबाट जोगिनका लागि युवावस्था वा वयस्क अवस्थामा नै मधुमेह लाग्न नदिने, रक्तचाप नियन्त्रणमा राख्ने, सामाजिक रुपले सक्रिय बन्ने कामहरु गर्दा यसको जोखिमबाट बच्न सकिने पनि डा.कँडेलले बताए ।

उनले भने, ‘सबै ज्येष्ठ नागरिकलाई यो रोग लाग्छ भन्ने हुँदैन । कसैकसैमा मात्रै यो रोग लाग्ने भएकाले सबैले विशेष ध्यान दिनुपर्ने हुन्छ । रोग लागिसके यसलाई निको पनि पार्न सकिने भएकाले घरका सदस्यहरुले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

सरकारले सूचीकृत गरेर अल्जाइमर्स रोगको उपचारका लागि अस्पतालहरु तोकेको छ भने एक लाखसम्मको उपचारको पनि व्यवस्था गरेको छ ।

Last modified on 2021-09-23 12:09:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts