कोरोना संक्रमणको जोखिममा दार्चुलाका विद्यार्थी



Download our app to get more features

दार्चुला, ६ असोज । कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपनि विद्यालयमा जान विद्यार्थीहरु अझै  त्रसित छन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत शय्या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । 

लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ । जिल्लाका सबै स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन् ।

विद्यालय सञ्चालन भएपनि बालबालिकालाई विद्यालय पठाउन अभिभावक हरुनै संकुचित देखिएका छन् । उसो त सरकारले दार्चुला जिल्लाको हकमा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन थालिसकेको छ । कोरोना खोप १८ वर्ष माथिकाले लगाए पनि बालबालिका संक्रमणको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले नै बताउने गरेका छन् ।

यसअघि बालबालिकामा कोरोना संक्रमण नदिएको दार्चुलामा गत हप्ता तीन दिनको अवधिमा विभिन्न स्थानीय तहका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो । आफूसमेत जोखिममा रहेका बेला साना बालबालिकाहरुलाई विद्यालय पठाउन थालेपछि चिन्ताले थप सताउन थालेको स्थानीय शेर सिंह धामीले बताए ।

Last modified on 2021-09-22 16:59:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts