कोरोनाको खोप निजी मेडिकलमा भेटिएकोमा विभागले अनुसन्धान गर्ने



Download our app to get more features

जनकपुर, २ असोज । कोरोना विरुद्धको खोप धनुषामा निजी मेडिकल पसलबाट बिक्री गरिएको सम्बन्धमा औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने भएको छ।

धनुषाको सहिदनगर नगरपालिकाको एउटा निजी मेडिकल पसलमा बिहीबार अनुगमनका क्रममा कोरोना विरुद्धका ६ भाइल खोप फेला परेको थियो।

सरकारले सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराएको ४ भाइल भेरोसेल, १ भाइल जोन्सन एन्ड जोन्सन र १ भाइल अस्ट्राजेनेका खोप सहिदनगर नगरपालिका–३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा फेला परेको थियो।

खोप फेला परेपछि पसल सञ्चालक कमलेश मण्डललाई पक्राउ गरि सोधपुछ गर्दा प्राथमिक स्वास्थ्य केन्द्र यदुकोहामा कार्यरत अहेव देवशरण यादवले दिएको बताएका थिए। उनीहरू दुवैलाई प्रहरीले पक्राउ गरेको छ।

औषधि व्यवस्था विभाग वीरगञ्जका निमित्त प्रमुख भाग्यनारायण सिंहले जनताको स्वास्थ्यका लागि सरकारले निःशुल्क दिएको खोप बेचेर रकम कमाउन खोज्ने मण्डल र यादवविरुद्ध विभागले अनुसन्धान गर्ने बताए। पक्राउ परेकासँग बयान लिएपछि कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए।

विभागका निमित्त प्रमुख सिंहका अनुसार लाइसेन्स भए एक किसिमको र नभए फरक दफाअनुसार कारबाही हुनेछ। उनले सरकारले जनताका लागि उपलब्ध गराएको निःशुल्क औषधि कुनै पनि व्यक्तिले बेच्न नपाउने भएकाले उनीहरूलाई कारबाही हुने बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको र अब अनुसन्धान औषधि व्यवस्था विभागले गर्ने जनाए।

Last modified on 2021-09-18 17:42:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts