के ‘निपाह’ भाइरसको जोखिम नेपालमा उच्च छ ? यसो भन्छन् डा.पुन

What's This?


Download our app to get more features

काठमाडौं, ३० भदौं ।  ‘निपाह’ भाइरस एक यस्तो भाइरसको हो जो मानिसबाट मानिसमा, जनावरबाट मानिसमा सर्ने गर्छ । पछिल्लो समय भारतको केरला राज्यमा यसको संक्रमण पुष्टि भएपछि र एक जना बालकको मृत्यु भएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ । 

हुनत, सन् २०१८ मा ‘निपाह’ को पहिलो केस भारतको केरलामै फेला परेको थियो । त्यो बेला १७ जनाको ‘निपाह’ कारण मृत्यु भएको थियो । यसलाई एकदमै खतरनाक भाइरसको रुपमा पनि चिनिन्छ । किनकी ‘निपाह’ को संक्रमण  हुने व्यक्तिको मृत्यु हुनेदर ७५ प्रतिशत हुन्छ । 

यसवर्ष पनिको भारतको केरलामै ‘निपाह’ को संक्रमण   पुष्टि भएको छ । गत ४ सेप्टेम्बरमा एक १२ वर्षको बालका ‘निपाह’ को संक्रमण  देखिएपछि उसलाई अस्पताल भर्ना गरियो । तर, उपचारको क्रममा उसको ६ सेप्टेम्बरका दिन मृत्यु भयो । त्यसबाहेक १ सय ८० जनामा पनि ‘निपाह’ को संक्रमण  पुष्टि भएकोमा २० जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए । 

भारतको दक्षिणी क्षेत्रमा ‘निपाह’ का कारण बालकको मृत्यु हुनु र संक्रमण  पुष्टि भएपछि नेपालमा जोखिम हुन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । भारतसँग नेपालको खुुला सीमानाका कारण नेपालमा पनि ‘निपाह’ को जोखिम उच्च रहेकाले सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । 

के हो ‘निपाह’ भाइरस ?

निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको संक्रामक  रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ । 

त्यस्तै यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा पनि सर्न सक्छ भने संक्रमित  व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्न सक्छ ।

‘निपाह’ भाइरसको संक्रमणपछि देखिने लक्षणहरु :

‘निपाह’ भाइरसका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । 

त्यस्तै यो भाइरसले मानिसको मष्तिकमा असर पुर्याउने र मानिसलाई अचेत अवस्थासम्म लान सक्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउछन् । 

यसको उपचार र औषधि छ कि छैन ?

डा.पुनका अनुसार ‘निपाह’ भाइरस संक्रमण  भइसकेपछि यसको निश्चित उपचार छैन । अहिलेसम्म यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन । त्यसैले भाइरसबाट बच्नका लागि बिरामी पशुपंक्षी नजिक नजाने र पशुपंक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्छ । 

त्यस्तै तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खाने, सरसफाइमा पनि ध्यान दिने गर्नुपर्छ । 

गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भिडभाडमा मास्क लगाउनाले भाइरसको संक्रमणबाट  जोगिन सकिन्छ । 

कोभिड र निपाह भाइरस कसरी छुट्टाउने ?

कोभिड र निपाह भाइरसको लक्षण धेरैजसो मिल्दोजुल्दो छ । कुन भाइरस हो भन्ने कुरा पत्ता लगाउन परीक्षणमा नै विशेष जोड दिनुपर्ने हुन्छ । 

डा.पुन भन्छन्, ‘विभिन्न कारणहरुले कुन रोग हो भनेर अनुमान गर्न सकिन्छ, तर, थाहा पाउनका लागि भने परीक्षण नै गराउनु उचित हुन्छ ।’ 

नेपालमा निपाहको महामारी फैलने जोखिम कति छ ?

निपाह भाइरस चमेरो, सुँगुर र मानिसबाट मानिसमा नै सर्ने हुँदा नेपालमा पनि यसको जोखिम छ । 

निपाह भाइरस सार्ने चमेरो नेपालमा पनि पाइने, त्यस्तै सँुगुर पालन नेपालमा व्यवसायकै रुपमा हुने र भारत नेपालको खुल्ला सीमानाले गर्दा मानिसको आवतजावत सहज हुँदा नेपाल निपाह भाइरसको उच्च जोखिममा रहेको डा.पुनको भनाइ छ । तर, नेपालमा  निपाह भाइरसको महामारी नै फैलने सम्भावना भने तत्काल नरहेको पनि उनी बताउँछन् ।
 
डा.पुन भन्छन्, ‘नेपालमा हालसम्म निपाहको पुष्टि भएको छैन् । भारतमा पनि निपाह भाइरस त्यति धेरै फैलिएको अवस्था छैन् । नेपालमा अहिले भनेको अलर्ट गरिएको हो । यदि निपाह पुष्टि भइहालेमा मानिसको मृत्युदर एकदम उच्च भएको हुनाले समयमा नै होसियार हुनुपर्छ । तर, अहिले नै निपाह नेपाल आइसक्ने अवस्था छैन् । भविष्यमा पनि हुँदैन भन्ने होइन तर, तत्काल महामारीकै रुपमा फैलने सम्भावना कम छ ।’

पहिलोपटक सन् १९९८ मा मलेसियामा फेला परेको निपाह भाइरसका हालसम्म भारत, बंगलादेशसहित अन्य केही मुलुकमा पुष्टि भएपनि हालसम्म यो भाइरस विश्वका कमै मात्र मुलुकमा फेला परेको छ । मृत्यु गराउने दर उच्च रहेकाले समयमै सावधानी र सतर्कता अपनाउनु उचित भएकाले सर्वसाधारणले विशेष ध्यान दिनुपर्छ । 

हाल देखिएको कोरोना भाइरसको पनि ठोस उपचार विधि पत्ता नलागेको तर, कोरोनाविरुद्धको खोपको विकास भइसकेको छ । तर, निपाहको खोपनि विकास हुन नसकेकाले विषेश सचेत हुनु पर्ने देखिन्छ ।

Last modified on 2021-09-16 07:37:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts